हत्या गरि भारत भाग्ने सुटरलाई किन पक्रेन प्रहरीले ?
सुनसरीको हरिनगार गाउँपालिका–२ स्थित भुटाहा बजारमा रहेको रोहियान नेशनल पब्लिक स्कुलको व्यवस्थापन समितिको बैठक बिहान राखिएको थियो । बैठक सकिए लगत्तै अध्यक्ष मौलाना खुर्सिद अन्सारी चिया पिउन बजार निस्केका थिए ।
चिया खाएपछि मोटरसाइकल चढेर घरतिर गएको केही समयमै उनीमाथि गोली प्रहार भयो । अज्ञात समूहको गोली प्रहारबाट घर जान हिँडेका अन्सारीको बिच बाटोमै हत्या भयो ।
उनको हत्या नियोजित हुनसक्ने अनुमान गरिएको छ । अन्सारीको बायाँ छातीमा दुई र टाउकोमा एक गरी तीन ओटा गोली लागेको छ । अन्सारीलाई गोली प्रहार गर्नेहरु ‘सार्पसुटर’ भएको पुलिसको आशंका छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ । खुला सिमानाबाट प्रवेश गरेका भारतीय बन्दुकधारीले दिनदाहाडै गोली प्रहार गरेर आतंक मच्चाएपछि सुनसरीको सीमा क्षेत्रका बासिन्दा त्रसित र आक्रोशित बनेका छन् ।
तीन तीन वटा चेक पोष्ट कटेर भारतीय नम्बर प्लेटको एउटा पल्सर र अर्को एफजेट मोटरसाइकलमा आएर हत्या गरी तीनै चेक पोष्ट मार्फत् फरार हुँदा पनि प्रहरीले हत्यारा पक्राउ गर्न नसकेपछि स्थानीय बासिन्दा आक्रोशित भएका हुन् ।
हत्याराहरु सिमाना कटेर भारतीय नम्बर प्लेटका दुईटा मोटरसाइकलमा चढेर करिब १७ किलोमिटरको दुरीमा पर्ने भुटाहा बजार छिरेको देखिन्छ । भारतीय सीमा कटेर आउनु ठूलो कुरो भएन तर हत्या गरेर भूटाहा बजारको मूलबाटो हुँदै साविक बसन्तपुर गाविस भएर घुस्की कटेर सीमापारी भारतीय बजार घुर्ना छिर्न सफल कसरी भए भन्नेमा प्रश्न उब्जेको छ ।
उनीहरु गएको बाटोमा तीनवटा चेकपोष्ट पर्छन् । वारी घुस्की सीमामा सशस्त्र प्रहरी वेसक्याम्प नै छ । भुटाहा बजारमा खुर्सिदको गोली प्रहार गरी हत्या भएको खबर आगोसरी फैलिएपछि भारततिर जाने बाटोमा स्थानीय बासिन्दाहरुले पनि ती अज्ञात हत्याराहरुलाई रोक्ने प्रयास गरेका थिए ।
केहीले सडकमा बेन्ची राखेर रोक्ने प्रयास गरेका थिए । बीचमा लठीको भरमा बन्दुकधारीलाई रोक्न खोज्ने प्रहरी जवान शिव पौडेलको खुट्टामा गोली प्रहार गरेर सहजै भागेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन ।
ती स्थानीय बासिन्दाले भने–‘प्रहरी र सीमामा बस्ने सशस्त्र प्रहरी बलले ती बन्दुकधारीलाई पक्राउ गर्न चाहेको भए ठाउँको ठाउँमै गोली हान्न सक्ने वा पक्राउ गर्न सक्थे तर किन रोकेनन् दैवले जानून् ।’
खुर्सिदको हत्या किन भयो भन्ने प्रश्नको जवाफका लागि प्रहरीले अनुमान समेत गर्न सकेको छैन । खुर्सिद कुनै डन थिएनन् । तस्कर पनि थिएनन् । अपराधिक गतिविधिमा सम्लग्न भएको देखिएको छैन । खुर्सिद नेकपाका कार्यकर्ता थिए ।
उनी स्थानीय भुटाहास्थित मदरसाका बोर्ड सदस्य थिए । दावत ए इस्लाम भन्ने सामाजिक संस्थाका उपाध्यक्ष र रोहियान स्कुलका व्यवस्थापन समिति अध्यक्ष थिए । स्थानीय बासिन्दाले उनी मुस्लिम धार्मिक संगठन मार्फत् सामाजिक काममा सक्रिय रहँदै आएको बेला सार्पसुटर प्रयोग गरी हत्या गरेको बताएका छन् ।
हालसम्म कुनै विवादमा नआएका खुर्सिदको हत्या मुस्लिम गतिविधिमा सक्रिय मौलाना (गुरु) भएकैले भएको हुनसक्ने बताइएको छ । खुर्सिदको हत्यापछि तीन–तीन ठाउँमा प्रहरी चेकपोष्ट भएपनि हत्यारा पक्राउ गर्न नसकेपछि स्थानीय बासिन्दा आक्रोशित भएर सडकमा टायर बाल्दै प्रहरी विरुद्ध नारा लगाएका छन ।
स्थानीय बासिन्दाले बन्दुकधारी हत्यारालाई पक्राउ गर्न सक्ने अवस्था हुँदाहुँदै पनि किन छाडेको ? तीनवटा चेकपोष्ट हुँदै कसरी भारत छिर्न सफल भए ? भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ नदिएसम्म कुनै समाधान ननिस्कने बताउँदै आएका छन् । उनीहरुले हत्यारालाई तत्काल पक्राउ गर्न पनि माग गरेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्