सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेकपा फुटेर एमाले र माओवादी व्युँतिने हल्ला

पार्टी एकता भएको लामो समयसम्म नेता कार्यकर्ताको समायोजन तथा जिम्मेवारी बाँडफाँड नभएपछी कार्यकर्तामा बढ्दै गएको असन्तुष्टीले पुरानै एमाले र माओवादी पार्टी व्युँतिने हल्ला सुरु भएको छ ।

नेता कार्यकर्ताको व्यवस्थापन नहुँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्तामा वितृष्णा पैदा हुन थालेको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको क्रियाकलापबाट कार्यकर्ताहरू दुःखी भएका हुन् ।

कार्यकर्ताहरूले पार्टी समायोजन किन ढिला भएको हो भनेर विभिन्न खालका अड्कलवाजी गर्न थालेका छन् । प्रचण्डको भारत र चीन भ्रमणले त झन् कार्यकर्ताहरूमा निरासा छाएको छ ।

दुई शीर्ष नेता ओली र प्रचण्डले आफू अनुकूल हुने गरेर पार्टी समायोजनको प्रस्ताव तयार पारेपछि जिल्ला र प्रदेशका कार्यकर्ताहरूमा आशंका उत्पन्न भएको हो ।

महासचिव विष्णु पौडेलले केपी ओलीसँग भन्दा पनि प्रचण्डतिर झुकाव राखेर सांगठनिक काम गर्ने गरेका कारण समस्या उत्पन्न भएको आरोप लागेको छ ।

भदौ महिनाभित्र स्थायी समितिको बैठकबाट समायोजनको कुरा सम्पन्न गर्ने भनिएको थियो । तर, असोज लाग्दा समेत पार्टी एकताको कुरा अड्किएको छ । खासगरी ओली वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पत्तासाफ गर्न सक्रिय भएपछि समस्या उत्पन्न भएको हो ।

नेपाल समूहको कब्जामा रहेका जिल्ला र प्रदेशहरूमा ओलीले आफ्ना मान्छेलाई जिम्मेवारी दिने तयारी गरेका छन् । प्रचण्डले पनि आफ्ना विरोधीहरूलाई तह लगाउने गरेर प्रस्तावहरू अगाडि ल्याएका छन् ।

जुन उत्साह र जाँगरका साथ पार्टी एकीकरण भएको थियो त्यो उत्साह क्रमशः सेलाउँदै गएको कार्यकर्ताहरूले बताउन थालेका छन् । उनीहरूले पछिल्लो समय ओली र प्रचण्डको गतिविधि पार्टी एकता विथोलिने हो कि भनेर चर्चा गर्न थालेका छन् ।

पेरिसडाँडा र धुम्बाराहीमा समानान्तर संगठन हुँदै आएका छन् । ओली पेरिसडाँडा जाँदैनन् । तर, प्रचण्ड धुम्बाराही लुखुर लुखुर जाने गरेका छन् ।

प्रचण्डमाथि ओलीको अविश्वास नै पार्टी समायोजनको समस्या भएको बताइएको छ । प्रचण्डको चीन र भारत भ्रमणबाट ओली सशंकित बन्न पुगेका हुन् ।

त्यस्तै, अविश्वासको वातावरण रह्यो भने ओली र प्रचण्डले आ–आफ्ना पुराना दलहरूलाई ब्युँताउन सक्ने बताइएको छ । पुरानै पार्टी व्युँतिन सक्ने तथ्यगत आधार नभएपनि पार्टीभित्रका गतिविधिले यस्तो आशंका बढाएको नेकपाका नेता कार्यकर्ताको भनाई छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्