सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सिंहदरबारमा सुरक्षा चुनौति, दुई नम्बर गेट बन्द

सुरक्षा कारण देखाउँदै देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेश गर्ने पश्चिम उत्तरको दुई नम्बर गेट सर्वसाधारणका लागि बन्द गरिएको छ । सर्वसाधारणका लागि पनि सञ्चालनमा रहेको दुई नम्बर (नेपाली सेना)को गेट निजामती कर्मचारीले मात्र प्रवेश पाउने गरी बन्द गरिएको छ ।

सुरक्षाकर्मी र कार्यालय समयमा निजामती कर्मचारीले मात्र प्रयोग गर्ने गरी पश्चिम उत्तरतर्फको गेट बन्द गरिएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले बताएका छन । उनले सिंहदरबारभित्र प्रवेश गर्न सहज बनाउनका लागि अध्ययन भइरहेको जानकारी दिएका छन ।

सिंहदरबार सुरक्षा समन्वय समितिले सूचना अधिकारीको संयोजकत्वमा सिंहदरबारस्थित नेपाली सेनाको सेनानी र महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारका प्रहरी निरीक्षक रहेको तीन सदस्यीय समिति गठन गरेको छ ।

समितिले पेस गर्ने प्रतिवेदनका आधारमा केही समयभित्र नै सिंहदरबारमा सवारी र झोला चेक गर्न दक्षिण गेटमा एक्सरे मेसिन जडान गर्ने तयारी गरेको छ । सिंहदरबारमा रहेको चारवटा गेटमध्ये दक्षिण गेट मात्र सर्वसाधारणका लागि सञ्चालमा रहेको छ ।

दक्षिण गेटबाट प्रवेश गरेर पश्चिम उत्तर (नेपाली सेना)को गेटबाट सर्वसाधारण बाहिर निस्कने गरेका थिए । उक्त गेट बन्द भएसँगै दक्षिण गेटमा हाल ट्राफिक जाम अत्यधिक हुने गरेको छ । प्रवेश गर्ने र बाहिरिने दक्षिण गेटबाट मात्र हुँदा चेकचाँजमा समस्या हुने गरेको बताइएको छ ।

महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारले दक्षिणबाट प्रवेश गरेपछि पूर्वी गेटबाट बाहिरिने व्यवस्था गर्दा राम्रो हुने बताएको छ । एक प्रहरी अधिकृतले भने–‘एउटै गेटबाट आउने र जाने गर्दा चेकजाँचमा समस्या भएको छ, सकेसम्म पूर्वी गेटबाट बाहिरिने व्यवस्था भए सुरक्षाको दृष्टिकोणले पनि राम्रो हुन्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्