सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

पुर्वडिएसपि जेठाजु र भाईबुहारीबिच फेसबुक लफडा

सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जेठाजुले बुहारीलाई आपत्तिजनक अपशब्द प्रयोग गरेको उजुरीमा प्रहरीले बेवास्ता गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गर्न पुगेकी पीडितलाई प्रहरीले उल्टै थुनिदिने धम्की दिएर फर्काइदिएका हुन ।

आफ्ना जेठाजु कृष्णकुमार खड्काले आफूलाई अपशब्द प्रयोग गरेको भन्दै उजुरी दिन पुगेकी समुना खड्कालाई प्रहरीले यसरी फर्काइदिएको हो । नेपाल प्रहरीका पूर्व डिएसपीसमेत रहेका खड्काले फेसबुक म्यासेन्जरमा लेखिएका आपित्तजनक शब्दको ‘स्क्रिनसर्ट’ प्रमाणसहित समुना महाशाखामा उजुरी गर्न गएकी थिइन ।

तर, महाशखाका प्रहरी निरीक्षक लीलाराज डाँगीले पीडित समुनालाई धम्क्याएर पठाएका हुन । समुना पूर्वडिएसपी खड्काका आफ्नै भाइ दिलीपकुमार खड्काकी श्रीमती हुन ।

विवाह गरेको २५ वर्षपछि बोक्सीको आरोप लगाएर कुटपिट गरी नेपालगन्जस्थित घरबाट निकालेपछि हाल समुना बानेश्वरमा एक छोरा र एक छोरीका साथ बस्दै आएकी छन ।

जेठाजु खड्काले आफूलाई समााजिक सञ्जालमार्फत पहिलेदेखि गाली गर्दै आएको तर, पछिल्लो समय सहनै नसक्ने अपशब्द प्रयोग गरेकाले प्रहरीको शरणमा पुगेको पीडित समुनाले बताइन ।

उनका अनुसार सुरुमा प्रहरीले राम्रो व्यवहार गरेका थिए । उनले भनिन्–‘डाँगी सरले सुरुमा तपाईंलाई सहयोग गरौंला भन्नुभयो, फेसबुक ह्याक गरेको छ कि छैन, त्यो हेनुपर्छ भन्नुभयो । मलाई म्यासेन्जरमा म्यासेज पठाएको दिन ह्याक भएको रहेनछ, म पक्राउ गर्छु भन्नुभएको थियो तर, मेरो जेठाजु कृष्णकुमार खड्का महाशाखामा हाजिर भएपछि मलाई उल्टै हप्काएर पठाउनु भयो ।’

उनले अगाडी भनिन्–‘मेरो गल्ती भए मलाई सजाय दिनुस । होइन भने गल्ती गर्ने व्यक्तिलाई सँगै राखेर कुरा त गराइदिनुस, उहाँले किन त्यसो गरेको हो म सोध्छु भन्दा पनि मलाई थुनिदिने धम्की दिएर फर्काउनु भयो ।’

समुनाका अनुसार बोक्सीको आरोप लगाई घरबाट निकालेलगत्तै खड्काले उनलाई वेश्यावृत्ति गरेको आरोप लगाएका थिए । समुनाले भनिन्–‘मैले प्रहरीसँगकै छलफलमा धेरैपटक समझदारी गरी छोराछोरी पढाएर बसेको थिएँ, गत साल पनि बाँकेमा एसपी टेकबहादुर राईले सहयोग गर्नुभयो । उहाँकै आग्रहमा चुप लागेर बसेको थिएँ तर, जेठाजुले यो हर्कत गर्दा मैले कसरी सहने ? छोराछोरीको मनमा कस्तो भावना उत्पन्न होला ।’

तर पूर्वडिएसपी कृष्णबहादुर खड्काले भने समुनाको फेसबुक म्यासेन्जरमा गएको म्यासेज आफूले नपठाएको दाबी गरेका छन । आफ्नो फेसबुक आइडी कसैले चलाएको हो वा फेक आइडी बनाएर त्यस्तो म्यासेज पठाएको हुन सक्ने उनले बताए । ‘म पूर्वप्रहरी पनि हुँ । उनी मेरो फ्रेन्डलिस्टमा पनि छैनन । फ्रेन्डलिस्ट नभएको मानिसलाई मैले कसरी म्यासेज पठाउँछु ?’ उनले भने–‘उनलाई म्यासेज पठाउने मेरो न कुनै उद्देश्य छ न मलाई कुनै फाइदा छ ।’

उनका अनुसार यसअघि पनि उनको फेसबुकबाट म्यासेज पठाएर यस्तै काम भएको थियो । ‘उनी मेरी भाइबुहारी हुन, भाइसँग अंशमुद्दा चलिरहेको छ । तीन वर्षदेखि भाइसँग छुट्टिएर काठमाडौतिर बसेकी छन । यो सबै सम्पत्तिका लागि हो,’ पूर्वडिएसपी खड्काले भनेका छन–‘म बुझेको मान्छेले किन यस्तो लेख्छु ?’ उनले थपे, ‘उनीसँग दुई वर्षअघि पनि यस्तै मुुद्दा चलेको थियो, मुद्दा टुंगिने बेला मलाई यस्तो आरोप आइलागेको हो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS