जाने हैन त घुम्नलाई तेह्रथुमको ‘ह्यात्रुङ्ग झरना’
तेह्रथुमको फेदाप गाउँपालिकामा रहेको ‘ह्यात्रुङ्ग झरना’ पर्यटकहरुको लागि रोजाईको गन्तव्य बनेको छ । गाउँपालिकाको वडा नम्बर ४ र ५ को सीमानामा रहेको यो झरना हेर्नकै लागि पछिल्लो समय दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन ।
पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको ह्यात्रुङ झरना दक्षिण एसियाकै अग्लो झरनाको रुपमा परिचित छ । यस ठाँउमा पर्यटकहरु दृश्यावलोकनका साथै फोटो खिच्ने तथा नुहाउने समेत गरेका छन ।
पहिलो पटक यस झरनामा घुम्न आएका मोरङ बिराटनगरका श्रवण कुमार रिसिदेवले आफुलाई स्र्वगमै पुगेको आभास भएको बताए । प्राकृतिक रुपमा बनेको यो झरनामा प्रत्येक दिन जसो देखिने सप्तरङगी इन्द्रेणिको दृष्यले पर्यटकको मन लोभ्याउने गर्दछ ।
झरनाको सुन्दर दृष्य हेर्नकै लागि युवादेखि वृद्धाहरु समेत आउने गरेका छन । फेदाप गाउँपालिकाको ईसिवु र सम्दुको सीमानामा रहेको यो झरना हेर्नको लागि नेपालका बिभिन्न स्थानका आन्तरिक पर्यटकहरु र भारत तथा अन्य तेस्रो मुलुकका बाह्य पर्यटकहरुको चाप बढ्दै गएको छ ।
यहाँ घुम्न आउनेहरु मघ्ये अधिकांश नवजोडीहरु पर्दछन । मध्यपहाडी लोक मार्गको सम्दु सडक खण्डबाट आधा घण्टाको पैदल दुरीमा पुग्न सकिने यो झरनाको प्रचार प्रसार र उचित व्यवस्थापन भने खासै भएको देखिँदैन ।
निजी तथा सरकारी स्तरबाट व्यवस्थापनका लागि पहल नहुँदा पर्यटकीय महत्व बोकेको यो झरना ओझेलमा पर्दै जाने भएकाले यसको प्रर्वद्धनका लागि कार्ययोजना बनाईएको फेदाप गाउपालिकाका प्रवक्ता नबिन चोङबाङले बताएका छन ।
बर्खायाममा पानीको श्रोत प्रशस्तै भएपनि हिउँदमा झरनामा पानीको मात्रा कम हुने गरेकाले सो बेलामा समेत पानीको ब्यवस्थापन गर्नुपर्ने स्थानीयबासीको भनाई छ । झरनासम्म आवत जावतका लागि सडकको निर्माण र झरनाको संरक्षण तथा विकासका लागि छुट्टै कार्यक्रम सरकारले ल्याउनुपर्ने यहाँ घुम्न आउने पर्यटकहरुको भनाई छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्