सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अस्ट्रेलियाबाट प्रेमिकाका अश्लील भिडियो सार्वजनिक

करिब तीन वर्षअघि ललितपुरकी रमिला साह (नाम परिवर्तन) को स्थानीय एक युवकसँग चिनजान भयो । भेटघाट बाक्लिँदै गएपछि उनीहरु निकट हुँदै गए । ती युवक अस्ट्रेलिया जाने तरखरमा थिए । विदेश उड्नु अघि दुवैले ‘पेपर म्यारिज’ गरे ।

अस्ट्रेलिया पुगिसकेपछि प्रेमीले दिनहुँजसो रमिलासँग कुरा गर्थे । मायाँ प्रीतिका गफ मात्र होइन, एकले अर्कालाई गोप्य अंगका तस्विर देखाउन थाले । यो क्रम भिडियो च्याटसम्म पुग्यो । दुवै जना भिडियो च्याट मार्फत अश्लील क्रियाकलाप समेत गर्न थाले ।

यो क्रम लामो समयसम्म चल्यो । तर रमिलाले एक दिन आफ्नो अश्लील भिडियो सामाजिक सन्जालमा अपलोड भएको थाहा पाएपछि झसंग भइन । कसैको फेक आइडी बनाएर ती भिडियो र तस्विरहरु अपलोड गरिएको थियो । रमिलाले तत्कालै प्रहरीलाई खबर गरिन । प्रहरीले भिडियो र तस्विर अपलोड गरिएका ती सबै अकाउन्ट बन्द गरिदियो ।

तर ती प्रेमीले रमिलाका भिडियो र तस्विर अपलोड गर्ने क्रम छाडेनन् । उनले बिभिन्न नाममा फेसबुक अकाउन्ट खोलेर अपलोड गरिरहे । साइबर अपराध हेर्ने एक प्रहरी अधिकारीले भने–‘दुई वर्षअघि हामीकहाँ रमिला उजुरी लिएर आएकी थिइन । हामीले कैयौंपटक ती तस्विर र भिडियो हटाइदियौं । तर युवकले दुख दिइरहेका छन । रमिला हामीकहाँ आउन छाडेकी छैनन् ।’

स्रोतका अनुसार रमिला र ती युवक दुवै जना राजनीतिक पहुँच भएका र तराईतिरका हुन । ती युवकले अन्य युवतीहरुसँग पनि यस्तै खालको ब्यवहार देखाउने गरेको निष्कर्ष प्रहरीको छ ।

पछिल्लो समय विदेशमा रहेर आफ्नो पूर्व सम्बन्धका भिडियो तथा तस्विरहरु सामाजिक सन्जालमा अपलोड गर्ने क्रम बढ्दो छ । यसबाहेक सामाजिक सन्जालमै परिचय भएर वा सामाजिक सन्जालमै बोल्ने क्रममा सेयर हुने भिडियो तथा तस्विरले समेत पीडित हुनेको संख्या बढ्दो छ ।

स्रोत भन्छ–‘पीडकहरु विदेशमा हुने हुँदा पक्राउ गरेर कारबाही गर्न गाह्रो हुन्छ । साइबर अपराधका केही घटनामा प्रहरी अष्ट्रेलिया, जापान लगायतका देशबाट अभियुक्त पक्राउ गरि नेपाल ल्याउने तयारी समेत गर्दै छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्