निर्मलाका हत्यारा पत्ता लाग्न १२ बर्ष लाग्नसक्छः केपी
कञ्चनपुरकी निर्मला पन्तको बलत्कारपछी हत्या गरिएको घटनाले अहिले सरकारलाई नै हल्लाईदिएको छ । प्रहरीले नै प्रमाण नस्ट गरेको भन्दै ब्यापक बिरोध भएपछी बनेको छानबिन समितिको समेत प्रतिवेदन आउँदा पनि बलात्कार र हत्याका आरोपी अँझै पत्ता लाग्न सकेका छैनन् ।
कञ्चनपुरका तत्कालीन एसपी, उनका छोरा र कञ्चनपुरका मेयरका भतिजको डिएनए रिपोर्ट समेत नमिलेपछी निर्मला पन्तका अभिभाबकले घटना सामसुम पार्न सरकार नै लागीपरेको आरोप लगाएका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिका पुगेका बेलामा समेत निर्मला हत्या प्रकरणको प्रश्नले लखेटेको छ । अमेरिकामा अन्तरवार्ता दिने क्रममा प्रधानमन्त्री ओलीले निर्मला हत्याको प्रश्नको सामना गर्नुपरेपछी उनले निकै खरो रुपमा जवाफ दिएका छन ।
प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले बलात्कार र हत्या सरकारले गरेको होइन भन्दै यस्ता कतिपय घटनामा अपराधीहरु पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्ने जवाफ दिएका छन ।
प्रधानमन्त्री ओलीले भनेका छन–‘हरेक व्यक्तिका पछाडि त प्रहरी त हुँदैन कुनै पनि समाजमा । सरकारले पत्ता लगाउन सकेन होला, किनभने अपराध गर्नेले सूचना दिएको त हुँदैन । दसी छोडेको हुँदैन ।’
निर्मला पन्तको बलत्कारपछी हत्या भएको प्रकरणसम्बन्धी पत्रकार सूर्य थापाले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले यसरी दिएका छनः–
पहिलो कुरा म भनौं, यस्ता कुराहरु राजनीतिक हथकण्डाका कुरा वा राजनीतिक विषय बनाउने कुरा, राजनीतिक दाउपेच, उछिनापाछिनका कुरा होइनन । सामाजिक अपराध भनेको बहुतै निन्दनीय र दुःखद कुरा हो । त्यसमाथि जुन प्रकारका अमानवीय भन्दा पनि अत्यन्त निकृष्ट खालका जघन्य अपराधका घटनाहरु घटेका छन, यी अत्यन्तै दुःखद छन । अत्यन्तै चिन्ताजनक छन । र, यसले हाम्रो सामाजिक मूल्य मान्यता र हाम्रो सामाजिक स्तर कहाँ जाँदैछ भन्ने हो ।
हरेक व्यक्तिका पछाडि प्रहरी त हुँदैन कुनै पनि समाजमा । अपराध कर्मको मनोवृत्तिलाई कम गर्न सकिएन र त्यस्ता मनोवृत्तिलाई हौस्याउने खालका कामहरु भए भने त्यो दुःखद कुरा हुन्छ । सरकारले पत्ता लगाउन सकेन होला, किनभने अपराध गर्नेले सूचना दिएको त हुँदैन । दसी छोडेको हुँदैन ।
कोही–कोही ठाउँमा हुन सक्छ, कसैको संलग्नताको कुरालाई ढाकछोप गर्ने प्रयास स्वरुप पनि अल्मलिएको हुन सक्छ । सबै ठाउँमा पत्ता नलागेको छैन । नेपालमा अपराध पत्ता लगाउने कुरामा नेपाल प्रहरी अगाडि नै छ, माथि नै छ । १२ वर्ष अगाडिका अपराधहरु अहिले पत्ता लागिराखेका छन । अस्ति भर्खर पनि १२ वर्ष अगाडिको एउटा अपराध पत्ता लाग्यो । यस्ता घटनाहरु १२ वर्ष अगाडिका पनि पत्ता लाग्दारहेछन ।
अर्थात १२ वर्ष त पत्ता लागेको थिएन नि त । कहिले कहिले १२ वर्ष पनि पत्ता लाग्दोरहेन छ अपराध । अपराध पत्ता लाग्न समय लाग्न पनि सक्छ । तर, के सरकार अपराध ढाक्न लागेको छ ? के अपराधी जोगाउन लागेको छ ? त्यस्तो लागेको छैन । कोही यस्तो हुन सक्दछ, कुनै पनि संगठनमा, संस्थामा, राज्यमा, निकायमा शत प्रतिसत मान्छे ठीकै छ भन्न सकिन्न होला । त्यस्तो मान्छेहरुको पनि घुसपैठ हुन सक्छ । तर, राज्यको तर्फबाट त्यस्तो भइराखेको हैन र राज्य त्यस कुरामा गम्भीर छ ।
अब यसमा बढी चिन्तित हुनुपर्ने कुरा, सरकारको आलोचना आफ्नो ठाउँमा होला, सरकारले राम्ररी अनुसन्धान गरोस्, खोजोस्, पत्ता लगाओस् भन्ने कुरामा सरकार क्रियाशील छ । त्यसका निम्ति अनेक स्टेपहरु चालिएको छ । त्यहाँका मान्छेहरु फिर्ता बोलाउने, अरु थप पठाउने, थप खोज अध्ययन अनुसन्धान गर्ने, बाहिरी रुपमा खोज अनुसन्धान गर्ने, भित्री रुपमा खोज अनुसन्धान गर्ने यी सबै कामहरु भएका छन ।
यो सँगसँगै सामाजिक जागरणका लागि, समाजको नैतिक उत्थानका लागि ध्यान दिनुपर्दैन ? सामाजिक सञ्जालका नाउँमा, यस्ता साइटहरु मार्फत अत्यन्त घीनलाग्दा अपराधहरु फैलाउने ?
सरकार एकदम ठ्याक्कै सफल भयो भन्न त म भन्दिनँ । किनभने सरकारले पत्ता लगाउन सकेको छैन । कोशिस गरिराखेको छ । तर, कहिले कहिले यस्ता घटनाहरु पत्ता लगाउन अलि समय लाग्छ । त्यसलाई विषय बनाएर यही सरकारले नै यो अपराध गराएको हो जस्तो गर्न खोज्ने भनेको त विषय विहीनताको, विषयको दरिद्रताको र संस्कार दरिद्रताको स्थिति हो । जहाँसम्म घटनाको कुरा हो, घटना अत्यन्त दुःखद् हो । चिन्ताजनक यसकारण छ कि यति नैतिक मूल्यमा नेपालजस्तो देश, नेपाली हुँ भन्नेहरु यति तल गिर्नु भनेको दुःखको कुरा हो । यसलाई उठाउनुपर्छ ।
केही मान्छेहरु सबै काम छाडेर यसैमा लागेका छन । जसरी पनि विरोध गर्ने । तिनको सम्बन्धमा त मलाई केही टिप्पणी गर्नु छैन । तपाईले हेर्नुभयो भने ‘यो सरकारले के गर्दैछ, हत्या हिंसा बलात्कार गर्दैछ‘’ के यस्तै हो र ? के यो सरकारले हत्या हिंसा र बलात्कार गरिराखेको छ ? यस्ता बकबास गर्ने बकबासीहरुका सम्बन्धमा त हामीले केही कमेन्ट गर्नु छैन ।
होला, लुकेर गर्ने अपराधलाई तत्काल पत्ता लगाउन सकेन होला । हाम्रो संयन्त्र कस्तो छ ? हाम्रा राज्यका अरु संयन्त्रहरु कत्तिको सबल छन् ? यो हेर्न पर्यो नि । ती संयन्त्रहरु सबल छैनन भने ती संयन्त्रलाई सबल बनाउने कुरादेखि लिएर । राज्यको नियत के यस्ता कुरालाई ढाकछोप गर्नेमा छ र ? राज्य त यस्ता कुराहरु नहोऊ्न र सम्पूर्ण कुराहरु रोक्नुपर्छ भनेर लागिराखेको छ ।
हामी राज्य संयन्त्रलाई सबल बनाउँछौं । सामाजिक नैतिकताको धरातल जुन खस्किँदो छ, त्यसलाई माथि उठाउँछौं । राजनीतिक नैतिकता, राजनीतिक उचाइ र स्तर यति तल खसेको छ, त्यसलाई उठाउनुपर्ने छ । जे पनि बोकेर हिँड्ने । राजनीतिक पार्टीहरुका राजनीतिक एजेण्डा छैनन । कुनै विषय छैनन । राष्ट्र निर्माणका कुनै विषय छैनन। राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक कुनै विषय छैनन ।
अनि के भेटिन्छ भन्दाखेरि मुसाले चामलको बोरामा प्वाल पार्यो अरे भन्ने सुन्यो भने ल यस्तो सरकार ! मुसाले चामलको बोरामा प्वाल पारुञ्जेल के हेरेर बस्यो ? नालायक सरकार भनेर कराउने । यो खालको राजनीतिक संस्कृति जुन छ, यो एकछिनका लागि हो । दया लाग्दो संस्कृति हो यो । यसलाई संस्कृतिका रुपमा जो उठाउन खोजेका छन, केही अर्थ छैन यसको ।
(स्रोतः अनलाईनखबर)
फेसबुकबाट कमेन्ट गर्नुहोस्