प्रधानमन्त्री निवास बालुवाटार सजाउन ५ करोड
प्रधानमन्त्री निवास बालुवाटारलाई साढे ५ करोड खर्चिएर रंगीचंगी बनाइएको छ । निवास छिर्ने बित्तिकै चारैतिर रंगीबिरंगी बगैचा बनाइएको छ । बगैचाको बीचमा पानीको रंगीन फोहरा, ढुंगेधारा, मन्दिर, पुल, तलाउको दृश्यसहितको ल्यान्डस्केप ‘बगैंचा व्यवस्थापन’ को कार्य अन्तिम चरणमा पुगेको छ ।
बगैचाको बीचमा अवस्थित तलाउमा राखिएको फोहरा रातिमा सप्तरंगी देखिनेछ । सरकारले दुई वर्षअघि नै बालुवाटारमा बगैचा व्यवस्थापन गर्ने निर्णय गरेको थियो । त्यसका नाममा ५ करोड ३२ लाख ५६ हजार रुपैयाँ खर्च गरेर भव्यता थपिएको छ ।
भीभीआईपीको आवास व्यवस्थापनको जिम्मेवारी पाएको भवन निर्माण सम्भार डिभिजन कार्यालयले प्रधानमन्त्री निवास बालुवाटारको रूपरङ नै फेरिने गरी बगैचा व्यवस्थापनको काम गरेको हो । त्यो अहिले अन्तिम चरणमा पुगेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारभित्रै मुख्यसचिव बस्ने सरकारी आवास निर्माणसमेत अन्तिम चरणमा पुगेको छ । हालसम्म बालुवाटारमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख मात्रै बस्दै आएका छन । केही दिनभित्रै सरकारका मुख्यसचिव पनि बालुवाटारमै बस्नेछन ।
मुख्यसचिवको अत्याधुनिक चारतले आवास निर्माणका लागि ४ करोड ५१ लाख खर्च भएको भवन निर्माण सम्भार डिभिजन कार्यालयले जनाएको छ । आवासमा अत्याधुनिक पूजाकोठा र योग हल समेत छ । पूर्ण रूपमा नेपालीपन झल्किने र कलात्मक डिजाइनका साथ मुख्यसचिवको आवास बनाइएको कार्यालयले बताएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्