बौद्धका डिएसपी श्याम राई घुससहित परे फन्दामा
डिएसपी श्यामकुमार राई केही महिनाअघिसम्म घुस लिने कर्मचारीलाई पक्रिँदै हिँड्थे । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अप्रेसन टिम’मा थिए । तर, शनिबार राई आफैँ अख्तियारको ‘स्टिङ अप्रेसन’को फन्दामा परेका छन् ।
महानगरीय प्रहरी वृत्त बौद्धको कार्यालयबाटै उनी एक लाख ४० हजार घुससहित पक्राउ परेका हुन् । अख्तियारका एसपी प्रवीण पोखरेल नेतृत्वको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।
ओसारपसारका लागि सहज वातावरण बनाइदिने भन्दै बालुवा व्यापारीसँग घुस लिँदै गर्दा डिएसपी राई पक्राउ परेका हुन् । उनले पटक–पटक दुःख दिएपछि पीडित व्यापारीले अख्तियारलाई खबर गरेका थिए । करिब ५ महिनाअघि बौद्ध वृत्तमा सरुवा भएका उनी सुरुदेखि नै विवादमा परेका थिए ।
उनले आफ्नो क्षेत्रमा ‘हप्ता असुल्ने’ गरेको उजुरी परेको थियो । यसअघि महानगरीय प्रहरी वृत्त चापागाउँको इन्चार्ज हुँदा नै उनीविरुद्ध उजुरी परेको थियो । एकपटक अख्तियारको टोली रंगेहात पक्रिन खटिएको पनि थियो । तर, पहिल्यै सूचना पाएपछि उनी जोगिएका थिए ।
इन्स्पेक्टर हुँदा उनी कालिमाटी ट्राफिक प्रभागमा थिए । त्यहाँ रहँदा पनि घुस काण्डमा कारबाहीमा परेका थिए । विवादास्पद पृष्ठभूमि भए पनि उनी राजनीतिक लविङबाट सँधै आकर्षक कार्यालयमा सरुवा हुँदै आएका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्