यसकारण रोक्छ भारतले नेपालमा तेल उत्खनन्
पहिलोपटक प्रधानमन्त्री बन्दा केपी शर्मा ओलीले देशमा दुई वर्षभित्र पेट्रोल निकाल्ने भाषण गरेका थिए । उनले पेट्रोल निकाल्छु भनेको अवधि पूरा भइसकेको छ । तर, पेट्रोल निकाल्न परै जाओस् अन्वेषण गर्ने सम्झौता अँझै कार्यान्वयन भएको छैन ।
नेपाल—चीनबीच नेपालमा पेट्रोलियम पदार्थ र ग्यास अन्वेषण गर्नेबारे भएको सम्झौता कार्यान्वयनमा अन्यौल उत्पन्न भएको छ । भू–सामरिक कारणले पेट्रोल अन्वेषण समस्यामा परेको हो ।
नेपालमा पेट्रोलियम पदार्थको खानी भएको सम्भावित क्षेत्रमा पूर्व र पश्चिमको चुरे र तराई क्षेत्र हुन । छिमेकी भारतले चीनबाट हुनसक्ने अन्वेषणमा प्रश्न उठाउन सक्ने भएकाले अन्वेषणमा अन्योल बढेको छ ।
अन्वेषणका लागि प्रयोग हुने प्रविधि सुरक्षाका दृष्टिले संवेदनशील हुन्छन । भारतले सीमानजिक प्रयोग हुने यस्ता उपकरणबारे आपत्ति जनाउन सक्छ । पेट्रोलियम अन्वेषणका लागि हेलिकप्टरसमेत प्रयोग गर्नुपर्ने हुनसक्छ । त्यस्तो अवस्थामा छिमेकको चासो हुनसक्ने एक खानीविज्ञले बताएका छन ।
सीमा नजिक अन्वेषणका लागि हेलिकोप्टर उडाउँदा भारतको स्वीकृति लिनुपर्ने अवस्था आउनेछ । यस्तो अवस्था बुझेर चिनियाँ पक्षले काममा ढिलाइ गरिरहेको बुझिएको छ ।
पेट्रोलको खानी एउटै क्षेत्रमा भएको तथा आसाममा भारतले र पाकिस्तानले पोथोरामा निकालिरहेको पेट्रोलको खाडलको क्षेत्र एउटै परेको भूगर्भविद् प्राध्यापक लालुप्रसाद पौडेलले बताएका छन ।
एउटा क्षेत्रमा निकाल्दा अर्को क्षेत्रमा सुक्ने सम्भावनाका कारण भारत र पाकिस्तान दुवै नेपालमा पेट्रोलियम पदार्थ निकाल्ने पहलको विपक्षमा जान सक्छन । यिनै विषयका कारण पेट्रोलियम अन्वेषणमा भएका सहमति र सम्झौता कार्यान्वयन अन्यौलमा परेको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्