सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

निर्मलाको सामुहिक बलात्कार, सुरुवाल, पेन्टि गायब

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछी हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले शंकाको सुई वविता भनिने अनिता बमतर्फ सोझ्याएको छ । गृहमन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनको ३४ औं पृष्ठमा भनिएको छ–‘अनिता बमको गतिविधि शंकास्पद देखिन्छ ।’

समितिको प्रतिवेदनले निर्मलाको हत्या एकजनाले गर्न सम्भव नभएको भन्दै सामुहिक बलात्कार भएको विश्लेषण गरेको छ । एक जनाबाट बलात्कार सम्भव नभएको तर्क गर्दै समितिको प्रतिवेदनमा यसो भनिएको छः

‘दिउँसोको समय र मान्छेहरुको आवत–जावत भइरहने सडक नजिकै एउटा व्यक्तिबाट आकस्मिक रुपमा बाटोमै समाती जबरजस्ती करणी गर्न असम्भव देखिन्छ । किनकी, दुई हातले समातेर लिँदा पनि बालिका चिच्याउनुपर्ने, लास फेला परेको उखुबारी नजिकै घरमा दुईवटा कुकुर रहेको र चक्रदेव बडू तथा निजका बाबुसमेत उक्त दिन घरमै भएको भन्ने भनाइ र पोष्ट मार्टम रिपोर्टमा बालिकाको तौल ४०/४५ केजी उल्लेख गरिएको, एकजनाले आकस्मिक रुपमा बलात्कार गर्न एकहातले बालिकालाई समाते पनि अर्को हातले मुख थुनेको भए बालिकाको सुरुवाल, पेन्टी र आफ्नो पाइन्ट, हाफ पाइन्ट पनि खोल्न गाह्रो हुनसक्ने भएकाले एकजनाले मात्र आकस्मिक बलात्कार गर्न सम्भावना कम देखिएको ।’

उखुबारीमा निर्मलाको बलात्कार र हत्या नभई बाहिरबाट हत्या गरेर त्यहाँ शव फालेको ठहरमा समिति पुगेको छ । निर्मलाका कितावहरु पानीमा नभिजेको ओभाना देखिएको हुनाले उनलाई अन्यत्रै हत्या गरेर ती कितावहरु घटनास्थानमा पछि राखिएको समितिको निश्कर्ष छ ।

निर्मला पन्त हराएको दिन बम दिदीबहिनीहरु ट्युसन सेन्टरमा अनुपस्थित भएको समितिको प्रतिवेदनमा उल्लेख छ । तर, बबिता (अनिता) बम र उनका बुबाले ट्युसन सेन्टरमा गएर आफूहरु उक्त दिन ट्युसन पढ्न आएका थिए भनिदिनोस् भनेर आग्रह गरेका कारण उनीहरुको गतिविधि शंकास्पद रहेको समितिले निश्कर्ष निकालेको छ ।

समितिले आफ्नो सुझावमा यो घटनाबारे विशेष अनुसन्धान टोली बनाई अनुसन्धानको दायरा फराकिलो बनाउँदै लैजानुपर्ने सुझाव दिएको छ । साथै, प्रहरीहरुलाई समेत छानविनको दायरामा ल्याउन सुझाव दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले तयार पारेको सनाखत मुचुल्कामा निर्मला पन्तको रातो कलेजी रंगको सुरुवाल, रातो रंगको भेष्ट र खरानी रंगको पेन्टी लगायत साइकल, कापी प्रहरीले बरामत गरी लगेको उल्लेख भए पनि बरामत गरिएका उल्लेखित वस्तुहरु हाल नभेटिएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी घटनास्थलबाट नीलो रंगको सेन्डो गञ्जी र खैरो रंगको जिन्स हाफपाइन्ट बरामद गरिएको कागजमा उल्लेख भएकोमा नमूना परीक्षणको पत्रलाई सच्याउन जिल्ला प्रहरी कार्यालयले अर्को पत्र पठाएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदनमा भनिएको छ–‘सेतो गञ्जी हुनुपर्नेमा नीलो रंगको सेन्डो गञ्जी हुन गएको र हाप पाइन्ट हुनुपर्नेमा नीलो रंगको हाफ पाइन्ट हुन गएकाले सच्याइदिनुहुन अनुरोध गरेको देखिन्छ ।’

त्यसैगरी समितिले तयार पारेको प्रतिवेदनमा निर्मला पन्तको भजाइनल स्वाबमा भेटिएको भनिएको वीर्यका विषयमा पनि संशय देखाएको छ । उक्त स्वाब परीक्षणलाई समितिले ‘चलाखीपूर्ण’ भनेको छ ।

प्रतिवेदनको २४ र २५ पृष्ठमा लेखिएको छ–‘महाकाली अञ्चल अस्पतालमा २३ साउनको शव परीक्षणको रिपोर्टमा मृतकको भेजिनामा वीर्यको जीवाणु नदेखिएको र कन्र्फम गर्न भजाइनल स्वाब नेशनल फरेन्सिकमा पठाउने भनिएको पत्रको व्यहोरा र मृतकलाई पानीमा घोप्टो पारेर प्रमाण लोप हुने गरी राखिएको अवस्थाले पनि उक्त कार्य चलाखीपूर्ण रुपमा गरेको जस्तो देखिन्छ ।’

यस्ता छन् समितिले गरेका सिफारिसहरुः
उच्च स्तरीय समितिले तयार पारेको प्रतिवेदनमा आरोपी दिलिपसिंह विष्टलाई केरकार गर्ने क्रममा यातना दिने प्रहरीका साथै तत्कालीन एसपी डिल्लीराज विष्टसमेतलाई विभागीय कारवाहीको सिफारिस गरिएको छ ।

घटनाको अनुसन्धानमा संलग्न प्रहरीले हेलचेक्राइँ र लापरवाही गरेको प्रतिवेदनमा ठहर गरिएको छ र त्यसमा सहभागी सबै प्रहरीलाई विभागीय कारवाही गर्न सिफारिस गरिएको छ । त्यसैगरी प्रहरीको गोलीबाट घाइते भएकाहरुलाई निर्वाह भत्ता उपलब्ध गराउन भनिएको छ । पीडितलाई सामाजिक रुपमा पुर्नस्थापना गराउन सिफारिस गरिएको छ ।

त्यसैगरी घटनाको अनुसन्धानमा खटिने प्रहरीलाई प्रदर्शन नियन्त्रणमा नखटाउन भनिएको छ । अबदेखि जिल्लामा प्रहरीहरु खटाउँदा स्थानीयबासीलाई नखटाउन भनिएको छ । अनुसन्धानमा खटिएका प्रहरीले पीडितलाई पनि साथमा लिन भनिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्