चाडबाडको मुखमा नेताको घरजग्गा खोसिएपछी
चाडवाडको मुखमा भएको घरजग्गा पनि खोसिएपछी नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले बिचल्लीमा परेका छन । गोलेको उदयपुरको गाईघाटदेखि करिव तीन किलोमिटर पश्चिम बगाहा गाउँमा रहेको काठे घरसहितको एक कठ्ठा जग्गा खोसिएको हो ।
उनले ऋण तिर्नको लागि जग्गा बिक्री गरेर ६ लाख रुपैयाँ बैना लिइसकेका थिए । तर पास गर्न भनेर मालपोत कार्यालय पुग्दा पूरै जग्गा सडक विभागको नाममा भएको थाहा पाएपछि उनी छाङ्गोबाट खसेजस्तै भएका छन ।
घेदुङ अध्यक्ष गोलेले भने–‘अहिले किन्नेले कि तुरुन्त जग्गा पास गरिदिनु पर्यो, कि पैसा फिर्ता दिनुपर्यो भनिरहेको छ, लिएको पैसाबाट सबै ऋण तिरेँ, अब कहाँबाट दिनु ? घर छोडेर हिँड्नुको विकल्प छैन ।’
गोलेको पत्नी आशामाया तामाङको नाममा दर्ता रहेको साविक देउरी गाविस वडा नम्बर ८ को कित्ता नम्बर ५९६ को एक कठ्ठा जग्गा २०६३ को निर्णयबाट गाईघाट कदमाहा सडकको नाममा दर्ता भइसकेको मालपोत कार्यालयको श्रेस्तामा उल्लेख छ ।
मूल सडकबाट करिब ५५० मिटर टाढा दक्षिणतर्फ उक्त जग्गा छ । जबकि त्यस वरपर कसैको जग्गा सडकको नाममा परेको छैन तर गोलेको मात्रै परेको छ । भएको एक कठ्ठा जग्गा समेत खोसिएपछि गोले यति बेला न्यायको लागि हारगुहार गरिरहेका छन् ।
मालपोत र नापी कार्यालयको कर्मचारीको लापरवाहीबाट सडकमा नपर्ने जग्गा समेत खोसिएको उनी बताउँछन । जग्गा खोसिएपछि गोले महिना दिन जति मालपोत र नापी कार्यालय धाएर सकेसम्म कागजपत्र मिलाएर संगठनको काममा काठमाडौं हिँडे । तर यता मालपोतले प्रक्रिया अघि बढाएन ।
उनी फेरि जिल्ला आएर अहिले दिनहुँ कार्यालय धाइरहेका छन् । मालपोत अधिकृत नवराज खड्काले कहिले विभागमा सोध्नुपर्छ त कहिले सडकको आधिकारिक जवाफ आएको छैन भन्दै अल्झाइराखेको उनी बताउँछन् ।
गोलेले भने–‘सडकमा सोध्यो भने मालपोत कार्यालयले नै पुर्जा बनाइदिएको हुँदा पत्र लेख्नुको कुनै अर्थ नहुने भन्दै आएको छ । जे भएको हो मालपोतले त्यो कुरा लेखेर पठाउनु किन यत्रो समय लगाउँछन्, मैले बुझ्न सकेको छैन । आफै काम बिगार्ने अनि सर्वसाधारणलाई दुःख दिने यो त हदै भयो ।’
मालपोत कार्यालयले यो र त्यो कागज बनाउनुपर्छ भन्दै कहिले नापी कार्यालय त कहिले सडक कार्यालयलाई पत्र लेखेर जवाफ माग्दै हैरान बनाएको गोलेले बताएका छन । गोलेले भने–‘नापीले उक्त जग्गा कुनै पनि प्रकारको बाटोले नछोएको भनि पत्र पठाएपछि फेरि फिल्ड प्रतिवेदन पेश गर्न भनेर अर्को पत्र पठाएर दुःख दियो ।
मालपोतको पत्रअनुसार असोज ९ गते नै नापी कार्यालयका कर्मचारीले स्थलगत बुझी वडा अध्यक्षको रोहवरमा सरजमिन मुचुल्का समेत मालपोतमा पेश गरेका छन । मुचुल्कामा उक्त जग्गा कुनैपनि बाटोले नछोएको स्पष्ट खुलाइएको छ । तर पनि मालपोतले प्रक्रिया अघि बढाउन अँझै आनाकानी गरिरहेको गोलेको आरोप छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्