रगतसँग खेल्नेले रातो टिका हाम्रो हाईन भन्न मिल्छ ?
देश यतिबेला दशैंमय बनेको छ । राजधानी काठमाण्डौ लगायत देशका मुख्य शहरबजार सबै रित्तिएका छन् भने गाउँघर उल्लासमय र दशैंको रौनकले रंगिएको छ । परदेसीहरु घर फर्किएका छन् भने घरदेस भएकाहरु सबै दुख पिडा भुलेर दसैं मनाउँदै छन् ।
घटस्थापना भएदेखी सुरु हुने दशैैं मान्यजनको हातबाट निधारभरि टीका लगाएर आशिर्वाद लिएपछी सकिन्छ । उसो त कोजाग्रत पुर्णिमासम्म आफन्तकोमा टिका थाप्न जाने चलन छ । दशैं आम नेपालीको सांस्कृतिक चाड हो । समयक्रमसँगै अतिवादी सोच भएकाहरुले बहकाउ र अज्ञानताका कारण सामाजिक भड्काव आउने खालले दशैंलाई जाती विशेषको चाडको रुपमा ब्याख्या गर्ने गरेका छन ।
खास किन लगाइन्छ त दसैंमा टीका ? यसको महत्व समृद्धि, शक्ति र युद्धसँग जोडिएको संस्कृतिविद प्रोफेसर डाक्टर जगमान गुरुङ बताउँछन् । डा.जगमान गुरुङ भन्छन्–‘क्षत भनेको नाश हो, अक्षत भनेको नाश नहुने, यही नाश नहुने अन्नका रूपमा चामललाई अक्षता भनेर टीका लगाउन थालिएको हो ।’
अक्षता धानबाट निकालिएको चामलको हुन्छ । संस्कृतमा धन्य भनिने धानलाई अन्नमध्येको उच्चकोटीको अन्नको रुपमा मानिने वरिष्ठ संस्कृतिविद गुरुङको भनाइ छ । उर्भर अन्न प्राणलाई धान्ने प्राणेश्वरका रुपमा चामललाई लिइन्छ । प्राणेश्वर अर्थात चामलको भात भोजन गर्नुभन्दा पहिले निधारमा लगाउने चलन सुरु भएको गुरुङको दाबी छ । यसले कृषि र समृद्धिसँग जोड्ने काम गरेको उनी बताउँछन् ।
दसैं र दसैंको अक्षता युद्ध परम्परासँग पनि जोडिएको गुरुङको तर्क छ । शरद ऋतु सुरु भएसँगै खेतबारीबाट विश्राम लिएर किसानहरुले हातहतियार सफाइ गर्ने र धार लगाएर राख्ने चलन छ । अझै पनि नवरात्रीमा हातहतियार पूजा गर्ने चलन छ ।
किन त ? ‘खेतबारीबाट काम मुक्त भएर हातहतियार सफा गर्ने, साँध लगाउने, पूजा गरेर दशमीको दिन हातहतियार अभिषेक गरेपछि निधारमा दहीमा मुछेको चामलको टीका लगाए हर्षबढाइँ गर्दै युद्धको अभ्यासमा निक्लने चलन थियो,’ डा. गुरुङ भन्छन्, ‘दसैं युद्ध परम्परासँग जोडिएको पर्व हो ।’ दसैंमा पुजिने दुर्गा एक शक्तिको प्रतीक भएको गुरुङ बताउँछन् ।
साँस्कृतिक पर्व दसैंमा लगाइने टीका भने फरक–फरक हुन्छ । अहिले पनि एकाथरिले रातो टीका निधारभरि लगाउँछन् भने अर्काथरीले सेतो । गुरुङ, मगर, राई, लिम्बू, तामाङ, नेवार लगायत जनजातिले सेतो टीका लगाउँछन् भने खसआर्यले रातो टीका ।
यसमा संस्कृतिविदहरुको फरक–फरक धारणा पाइन्छ । तर, वरिष्ठ संस्कृतिविद जगमान गुरुङ भने अहिले आएर रातो र सेतो भनेर विवाद गर्नु बेकारको कुरा भएको बताउँछन् । पहिलेपहिले सबैले दही र चामल मुछेर सेतै टीका लगाउने गरेको डा. गुरुङको तर्क छ ।
‘पहिले कहाँ पाउनु अबीर, उत्पादनै हुँदैनथ्यो । सबैले सेतै टीका लगाउने हो,’ संस्कृतिविद् जगमानले भने–‘रातो टीका लगाउन थालिसकेका जनजाति पनि आफ्नो पहिचान भन्दै सेतोमै फर्केका छन् । वास्तवमा, जनजाति मात्र होइन, सुरुमा खसआर्यले लगाउने भनेको पनि सेतै टीका हो ।’
पछि यातायातको सुविधा भएपछि मात्रै अबीरको प्रयोग हुन थालेको उनको भनाइ छ । रातोलाई विजयीको प्रतीकका रुपमा टीका लगाउने गरिन्छ । ‘विवाहमा बाध्य भएर धेरै दिन लगाएर भए पनि अबीर लिन जाने तर मितब्ययिताको आधारमा बाँच्ने बाहुन ४ पैसाको अविर लिन धेरै दिन लगाएर जान सक्दैनथ्यो’ उनले भने, ‘त्यसैले आफ्नै ठेकीको दही र आफ्नो घरको चामल मुछेर टीका लगाउने हो ।’
पहिले नेवारले मात्रै रातो टीका लगाउने उनको तर्क छ । मुख्य बजार एरियामा अबिर बेच्ने नेवारले मात्र रातो टीका लगाउने गरेको गुरुङ बताउँन् । अहिले आएर टीकाको सन्दर्भमा उल्टो भइरहेको उनलाई लागेको छ । अहिले आएर दसैंको टीकासम्बन्धी अपव्याख्या भएको गुरुङले बताए ।
‘गुरुङ, मगर, राई, लिम्बू, तामाङ, थारुले रातो भनेको त बाहुनको हो हाम्रो त सेता टीका भनिरहेका छन् । कि चाहिँ दसैं मान्नै हुँदैन नत्र हामीले सेतो टीका लगाउनुपर्छ भन्छन उनीहरु, गुरुङले भने, ‘गुरुङले हामी त वुद्धिष्ट भन्छ । गुरुङले बुद्धिष्ट भनेर जानेको कति वर्ष भयो होला ? १ सय वर्ष पनि पुगेको छैन ।’
रातो हाम्रो होइन, हाम्रो टीका त सेतो हो भन्नु जनजातिले गरेको अपव्याख्या भएको उनको तर्क छ । गुरुङ, मगर, राई, लिम्बू, तामाङहरुले हाम्रो रातो होइन भन्नुभन्दा पहिले आफ्नो चलन हेर्नुपर्ने उनको भनाइ छ ।
‘अयँर–भयँर पुज्दा होस् या देउराली पुज्दा परेवा, कुखुरा, भेडो वा बोका जेसुकै काटे पनि थानको ढुंगामा पर्सिने चलन छ,’ गुरुङले भने–‘भोग दिएको टाउकोको रगत थाल वा टपरीमा राखेको अक्षतामा मुछेर टीका लगाउने हो ।’
जसले रगतमा मुछेको टीका लगाउँछ उसैले रातो त हाम्रो होइन भन्न नमिल्ने उनको तर्क छ । यो संस्कृति नबुझेको जस्तो भएको गुरुङको भनाइ छ । अहिलेसम्म पनि जनजातीहरुमा त्यो चलन यथावत रहेको गुरुङ बताउँछन् ।
बाहुन त काटमार नै नगर्ने जात भएको संस्कृतिविद डा. गुरुङको भनाइ छ । डा. गुरुङले भने–‘बाहुन काटमार गर्ने जातै होइन । क्षेत्री, गुरुङ, मगर, राइ, लिम्बुहरु लडाकु जाति हुन् । उनीहरुले दुश्मनलाई लछारेर, दुश्मनको छातीमा घुँडाले टेकेर, कम्मरको कर्दले काटेर रगतको टीका लगाउने जात हो ।’ त्यसैले उनीहरुले रातो टीका हाम्रो होइन भन्नु भनेको संस्कृतिको अपब्याख्या भएको गुरुङको निश्कर्ष छ ।
बाहुन क्षेत्रीले पनि रातो टीका लगाउन थालेको धेरै वर्ष नभएको गुरुङले बताए । विस्तारै बजारको पहुँच र भारतीयको प्रभावले विजयको प्रतीकको रुपमा सबैले रातो टीका लगाउने प्रचलन बढेको गुरुङको भनाइ छ । दसैं कुनै जात विशेषको पर्व नभएर सबै जातको सांस्कृतिक पर्व भएको उनको भनाइ छ ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्