एकाबिहानै बस दुर्घटना, दशैं मानेर फर्केका ६ को मृत्यु
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा गुल्मी हस्तचौर गाउँपालिका–२ बस्ने ३५ वर्षीय तिलक विष्टको ज्यान गएको हो ।
आज बिहान सो दुर्घटना हुँदा दुर्घटनास्थलमा पाँचजनाको मृत्यु भएको थियो । मृत्यु भएका अन्य ५ जनाको पनि सनाखत भएको छ । इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस आज बिहान ५ बजेको समयमा आफैँ अनियन्त्रित भई सडकबाट करीब ३५ मिटर तल खस्दा बसमा सवार पाँच जनाको घटनास्थलमा नै ज्यान गएको थियो ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा गुल्मी घर भइ नेपाली सेनामा कार्यरत ३५ वर्षीय तिलक विष्ट, मोरङ सुन्दरचौरका ११ वर्षीय सोहन कार्की, भोजपुरका २७ वर्षका रामजीत राई, सुनसरीका ३२ वर्षीय अब्दुल अन्सारी र भारत बिहारका विद्यानन्द यादव रहेको प्रहरीले जनाएको छ ।
बसमा सवार यात्रुले बताए अनुसार बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको प्रहरी उपरीक्षक थापाले बताएका छन् । दुर्घटनामा परी घाइते भएका ४१ जनाको भरतपुर र नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्