सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बिहे भएको ११ दिनमै नायिका रुपाको दुर्घटनामा मृत्यु

मगर चलचित्र ‘लर्फु’की नायिका रुपा थापा मगरको स्कुटर दुर्घटनामा ज्यान गएको छ । बिहेको दुल्हन फर्काएर घर फर्किएकी २१ वर्षीया रुपा थापाको मंगलबार आफैले चलाएको स्कुटर दुर्घटना हुँदा ज्यान गएको हो ।

दुर्घटनामा उनका श्रीमान २७ वर्षीय महेश पुन गम्भीर घाइते भएका छन् । उनीहरुको विहे २ हप्ता अगाडी मात्र भएको थियो । मृतक थापाले मगर चलचित्र लर्फु (पछ्यौरी) मा नायिकाको रुपमा अभिनय गरेकी छिन् ।

उनले पाल्पाका विभिन्न एफएम रेडियोमा समेत प्रस्तोतामा रुपमा काम गर्दै आएकी थिईन । स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४, बिर्घामा रहेको माइतीमा बिहेको दुलान फर्काएर मालिका गाउँपालिका–१, नेटा गुल्मीमा रहेको घर फर्कने क्रममा दुर्घटना भएको हो ।

मगर दम्पती चढेको लु ३७ प ३०९० नम्बरको स्कुटरलाई स्याङ्जाको मालुङ्गा नजिकै विपरीत दिशाबाट आएको लु १ च ७२५६ नम्बरको जीपले ठक्कर दिएको थियो ।

घाइते अवस्थामा रहेकी थापाको उपचारको क्रममा पाल्पामा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते थापाका श्रीमान महेशको लुम्बिनी मेडिकल कलेज प्रभासमै उपचार भैरहेको छ । उनको अवस्था समेत गम्भीर रहेको अस्पताल श्रोतले जनाएको छ ।

मगर विद्यार्थी संघ पाल्पाकी पूर्वअध्यक्ष समेत रहेकी मृतक थापाको शवलाई जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम पछि आफन्तलाई बुझाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्