किस गर्यो, भिडियो खिच्यो, पैसा माग्यो, कति सजिलो
अपराधका नयाँ नयाँ तरिका सिक्नु छ भने नेपालीको जति बुद्धि सायदै अरुको चल्छ होला ! चाहे सुन तस्करी होस्, चाहे ठगी होस्, चाहे चोरी होस्, चाहे अपहरण, फिरौति, हत्या होस् या ब्ल्याकमेलिङ नै किन नहोस् । पुलिस अपराधिको जालो चिर्दै जान्छ अपराधि जालो बुन्दै जान्छन् ।
यस्तै एउटा अपराधको जालो बुनेर व्यवसायीलाई पैसा असुल्न पल्केकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । युवती प्रयोग गरेर व्यवसायीलाई ब्लाकमेलिङ र एक्सर्टशन गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोरखा पालुङटारका ३१ वर्षीय वद्रीनाथ लामिछाने र पाँचथर हिलिहाङकी २५ वर्षीया इन्दिरा उप्रेती रहेका छन् । महिलालाई प्रयोग गरी ती व्यवसायीसँग अन्तरङ्ग भिडियो बनाएर पैसा असुल्न खोजेको उनीहरुमाथि आरोप छ । उनीहरुले ललितपुरको कुपण्डोल क्षेत्रमा बस्ने एक जना व्यवसायीलाई ब्ल्याकमेलिङ गरेका थिए ।
इन्दिरा उप्रेतीले फेसबुकमा निशा अधिकारीको नामबाट तीन व्यापारीलाई फ्रेन्ड रिक्वेस्ट पठाएकी थिइन् । पछि कुराकानीको क्रममा उनले व्यवसायीसँग मोबाइल नम्बरसमेत लिएकी थिइन् ।
पछि उप्रेतीले व्यवसायीलाई फोन गरी ‘तपाईंको अफिसमा भेट्न आउँछु, कुराकानी गर्नुछ’ भन्दै गत असार १ गते दिउँसो ‘निशा अधिकारी’ बनेर अफिसमा पुगेकी थिइन् ।
त्यहाँ पुगेपछि उनले आफ्नो वास्तविक नाम इन्दु भएको र घर झापाको बुधवारेमा पर्छ भनेर परिचय दिएकी थिइन । त्यसअघि नै उनले ती व्यवसायीले थाहा नपाउने गरी मोवाइलको भिडियो क्यामेरा अन गरी सोफामा राखेर त्यहाँ भएको सबै कुरा रेकर्ड गरेकी थिइन ।
त्यसपछि व्यवसायीको नजिक हुँदै छेउमा गई अङ्गालो मारी चुम्बन समेत गरेर त्यहाँबाट निस्केकी थिइन् । उनी त्यहाँबाट गएपछि आफूलाई ‘गणेश लामा’ बताउने व्यक्तिले ती व्यवसायीलाई इमोबाट फोन गरी सो अन्तरङ्ग पलको भिडियो रेकर्ड आफूसँग रहेको भन्दै रकम माग गरेका थिए ।
प्रहरीका अनुसार एक करोड रुपैयाँ रकम नदिएमा युट्युब र फेसबुकमा अपलोड गरी वेइज्जत गरिदिन्छु भन्दै ती व्यक्तिले वार्गेनिङ गर्दै आइरहेका थिए । यस विषयमा प्रहरीलाई उजुरी दिएपछि अनुसन्धान गर्दा घटनामा वद्रीनाथ लामिछाने र इन्दिरा उप्रेतीको संलग्नता रहेको खुल्न आएको थियो ।
लामिछानेलाई कार्तिक ६ गते बेलुका गौशालाबाट पक्राउ गरिएको थियो भने उप्रेती आज दिउँसो टेकुबाट पक्राउ परेकी छिन् । दुवैमाथि अपराधिक लाभ (एक्सटर्शन) को कसूरमा अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्