सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

किशोरी भगाएपछी हातखुट्टा बाँधेर घाममा सेकाइयो

सप्तरीमा पढ्दै गरेकी किशोरी भगाएको कसुरमा स्थानिय पञ्चायतले किशोरी भगाउने युवालाई हातखुट्टा बाँधेर घाममा सेकाएको छ । कक्षा ८ मा अध्ययनरत किशोरीलाई प्रलोभन देखाएर भगाएको भन्दै युवकसँगै उनका अभिभावक र भगाउन सहयोग गर्नेलाई समेत जरिवाना तिराइएको छ ।

घट्ना सप्तरीको डाक्नेश्वरी नगरपालिकाको हो । नगरपालिकाको वडा नम्बर ६ कटैयाकी किशोरीलाई स्थानीय युवकले विवाह गर्ने भन्दै भगाएका थिए । स्थानीय शत्रुधन रामका २२ बर्षीय छोरा मुकेशले कटैयाकी कक्षा ८ मा अध्ययनरत १७ बर्षीया किशोरीलाई विवाह गर्ने भन्दै १० दिन अगाडि भगाएका थिए ।

किशोरी र युवक वेपत्ता भएपछि दुबैको खोजबिन गरेका थिए । खोजबिनका क्रममा दुबैलाई भेट्टाएपछि इलाका प्रहरी कार्यालय पातोलाई जानकारी गराएका थिए । प्रहरीलाई जानकारी गराए पश्चात बसेको गाउँलेहरुको पञ्चायतीले किशोरी भगाउने मुकेशलाई रु. ५१ हजार जरिवाना तिराइएको छ ।

मुकेशका पिता शत्रुद्यनलाई गाउँलेहरुले १ हजार र किशोरी भगाउन सहयोग गर्ने सोही ठाउँका अगमलाल रामका छोरा १७ बर्षीय रन्दीप रामलाई ७ हजार, किसुन रामका छोरा १८ बर्षीय कमलेश रामलाई एक हजार, विनोद रामको छोरा १७ बर्षीय अमन रामलाई पनि एक हजार जरिवाना गरिएको छ ।

जरिवाना वापत आएको रकम किशोरीको विवाहमा खर्च गर्ने सहमति भएको छ । बुधबार बसेको पञ्चायतीले किशोरी भगाउने र भगाउन सहयोग गर्नेलाई जरिवाना गर्दै सजाय पनि दिएको छ ।

किशोरी भगाउने मुकेश, सहयोग गर्ने रन्दीप, कमलेश र अमनको हात खुट्टा बाँधेर दुई घण्टा घाममा सेकाइएको छ । ‘पढ्दै गरेकी किशोरीलाई विवाहको प्रलोभन देखाएर भगाउनु विकृति हो’ गाउँका अगुवा कुशेश्वर यादवले भने–‘यसैले सजाय दिँदै जरिवाना तिराएका छौं ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्