गण्डकी हस्पिटलमा उडुस आतंक, बिरामीलाई सास्ती
बिरामी भएर उपचार गराउन जाने अस्पतालमै बिरामीलाई उडुसले टोकेर हैरान बनाएपछी हालत के होला ? अनुमान गर्नुभएको छ ? यस्तै भएको छ, पोखराको गण्डकी क्षेत्रीय अस्पतालमा । क्षेत्रीय अस्पताल पोखरामा बिरामी र उनीहरूका कुरुवा उडुसले टोकेर हैरान परेका छन् ।
उपचार गर्न आएका बिरामीलाई उडुसले टोक्ने समस्या पनि थपिएको छ । सर्जिकल वार्डमा उपचाररत आफन्तको कुरुवा बसेकी तनहुँकी जेनिशा रानामगर भन्छिन्–‘उडुसले टोकेर हैरान पार्छ । बिरामी कुर्न बसेको आफै बिरामी पर्ने भएँ ।’
हैरान भएका कुरुवाले अस्पतालका नर्सहरूलाई समस्या सुनाएका थिए । उनले भनिन्–‘सिस्टरहरू हामी आफैं पीडित छौं पो भन्छन् । मारेर पनि साध्य छैन ।’ अस्पताल प्रशासन उडुसको समस्याबारे जानकार नभएको पनि होइन । तर, उपयुक्त कदम नचालेको गुनासो बिरामीका कुरुवाको छ ।
पोखराको पुम्दीभुम्दीका सन्दीप बराल भन्छन्–‘बिरामी भएर आएको दुखाइ छँदै छ, त्यसमाथि उडुसले टोक्दा किन भर्ना भइयो जस्तो लाग्यो । अस्पताल व्यवस्थापनले बेवास्ता गरेकै कारण यस्तो भएको हो ।’
चार दिनदेखि अस्पतालमा रहेका उनले उडुसको समस्यामात्रै होइन सरसफाइमा पनि ध्यान नपुगेको पाइएको बताएका छन् । उनले भने–‘बिरामी निको हुन आउने ठाउँमा झन् बिरामी पर्ने स्थिति छ । सरसफाइमा ध्यान दिए उडुसको समस्या हट्थ्यो । शौचालय पनि सफा राखिदिनुपर्छ ।’
बच्चा जन्माएका आमाभन्दा पनि शिशुलाई टोक्छ कि भन्ने डर लागेको प्रसूति वार्डमा आफन्तको कुरुवा बसेकी अस्मिता नेपालले बताइन । ‘उडुस दिनभरि हराउँछ रात परेपछि देखिन्छ,’ उनले भनिन्–‘यसलाई बेलुका अरुलाई असर नपर्ने गरी औषधी छर्किदिए हराउँदै जान्थ्यो ।’
उडुसले आफूहरू पनि हैरान रहेको नर्स सोभना गुप्ता सिंहले बताइन् । ‘नर्स स्टेसनको फर्निचरमा पनि उडुस परेको छ,’ उनले भनिन्–‘बिरामीको गुनासो प्रशासनसम्म पुगेको छ । बेलाबेला औषधि छर्ने गरेको पनि हो तर, हराएको छैन ।’
अस्पताल प्रशासनले चार महिना यता उडुसको समस्या रहेको जानकारी रहेको र निर्मूल पार्ने उपाय पनि अवलम्बन गरिएको दाबी गरेको छ । अस्पतालको प्रशासन शाखा अधिकृत नारायण आचार्यले उडुस निर्मूल पार्न कडा प्रकारको विषादि प्रयोग नगरी नहुने अवस्था रहेको बताएका छन् ।
‘त्यस्तो गरे पनि बिरामीलाई नै असर पर्ने सम्भावना भएकाले समस्यामा परेका हौं,’ उनले भने–‘बिरामीको स्वास्थ्यमा असर नपर्ने गरी कुन उपायबाट उडुस निर्मूल पार्ने भन्ने विषयमा विभागीय प्रमुख, वार्ड इन्चार्ज र प्रशासनबीच छलफल हुँदै छ ।’
तत्कालै निर्मूल नै पार्न नसके पनि कम गर्ने विकल्प अपनाइने उनले बताएका छन् । पश्चिम क्षेत्रका विभिन्न जिल्लासँगै पोखराको सुलभ उपचार केन्द्र भएकाले अस्पतालमा जहिल्यै बिरामीको चाप रहन्छ ।
बेड क्षमताभन्दा बढी बिरामी भर्ना भइरहने अस्पतालमा चापका कारण यस्तो उडुस निर्मूल पार्न प्रभावकारी उपाय अपनाउन ढिला भएको अस्पताल प्रशासन भनाई छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्