लाइन एयरको जहाज १८८ यात्रुसहित समुद्रमा खस्यो
इन्डोनेसियाको राजधानी जाकार्ताबाट पाङकल पिनाङका लागी उडेको लाइन एयरको विमान समुद्रमा खसेको छ । जाकार्ताबाट १८८ जना यात्रु बोकेर उडेको १३ मिनेटपछी सम्पर्कबिहिन भएको जहाज समुद्रमा दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको हो ।
जहाजका अवशेष र तेल समुद्रको पानीमा तैरिएका फोटोहरु अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुमा सार्वजनिक भएका छन् । सम्पूर्ण यात्रुहरुको अवस्था अज्ञात छ । विमानमा यात्रुका आफन्तजनहरुमा रुवावासी सुरु भइसकेको छ ।
जहाजमा १७८ जना वयस्क, एक बालक, दुई नवजात शिशु, दुई पाइलट र पाँच जना चालक दलका सदस्यहरु थिए । इन्डोनेसियाको अर्थ मन्त्रालयका २० जना कर्मचारी विमानमा रहेका थिए ।
लायन एयर्सको जेटी–६१० बिमान पाङकल पिनाङका लागि उडेको थियो । टेक अफ गरेको १३ मिनेटपछि सो जहाज एयर कन्ट्रोलको सम्पर्कबाट बाहिर गएको थियो । दुर्घटना हुनुअघि पाइलटले जहाजलाई बिमानस्थलमा फर्काउने प्रयास गरेको देखिएको छ ।
बिमान कम्पनीले पत्रकार सम्मेलन आयोजना गरेर भनेको छ–‘कोही जिवित छन् कि छैनन् भन्ने हामीले पत्ता लगाउन सकेका छैनौं । प्रार्थना र आशा भने हामीले गरिरहेका छौं ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्