फेरी साउदीबाट आएका ७ नेपालीको सामान चोरी
साउदी अरबबाट काठमाण्डौ आएका १८ जनाको सामान चोरी भएको घटना सेलाउन नपाउँदै मंगलबार फेरि साउदीबाटै आएका ७ जनाको सामान चोरी भएको छ । साउदीको जेद्दा बिमानस्थलबाट काठमाण्डौ ओर्लीएका पीडितहरुले आफ्नो सामान त्रिभुवन विमानस्थलमा नभई साउदीमै चोरी भएको आशंका गरेका छन् ।
साउदीको जेद्दा विमानस्थलमा काम गर्ने नेपाली लोडरले ‘तपाईहरुको सामान काठमाडौं नपुग्न पनि सक्छ’ भनेका कारण पिडितहरुले साउदीमै सामान गायव भएको हुनसक्ने आशंका गरेका हुन । गत शुक्रबार १८ जनाको सामान चोरी भएकै शैलीमा मंगलबार फेरि ७ जनाको पनि लगेज नै फुटाएर चोरी भएको छ ।
सामान चोरी हुनेमा झापाका अशोक कार्की पनि एक हुन । कम्पनी छाडेर अर्को ठाउँमा काम गर्न हिँडेका कार्कीलाई प्रहरीले पक्राउ गरी ३६ दिन जेल राखेपछी मंगलबार स्वदेश फिर्ता पठाएको थियो । जेल बसेर फर्किएका अरु १७ जना नेपालीहरु पनि कार्कीसँगै स्वदेश फर्कँदै थिए ।
जेद्दा विमानस्थलबाट बोर्डिङ पास लिएपछि पिडितहरुका लगेज फ्लाई दुबईका कर्मचारीले विमानमा लोड गर्नका लागि जिम्मा लिएका थिए । पिडितहरुका अनुसार फ्लाई दुबईका कर्मचारीले सबै सामान लगेजमा राख्न भनेका थिए । कसैको नाम नसोधि त्यतिकै ट्याग दिएर सामान लगिएको पिडितहरुले बताएका छन् ।
कार्कीसहित १८ जना नेपालीहरु फ्लाई दुबई मार्फत साउदीबाट मंगलबार राति करिब साढे सात बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा ओर्लिएका थिए । ओर्लिएको केही समयपछि लगेज पनि आइपुग्यो तर सबै फुटाइएको थियो । उनीहरुमध्ये थुपै्रको मोबाइल लगायतका मुल्यवान सामान हराएका छन् ।
सामान हराएको भनेर उजुरी भने ५ जनाले मात्रै गरेको विमानस्थल प्रहरीले बताएको छ । गत शुक्रबार फ्लाई दुबईबाटै काठमाडौं ओर्लिएका नेपालीहरुले सामान हराएको भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै प्रदर्शन गरेका थिए । वादविवाद भएपछि फ्लाई दुबईले पीडितहरुलाई क्षतिपूर्ति दिएको थियो ।
यसैवीच शुक्रबार र मंगलबारका चोरीका घटनामा जेलबाट छुटेका नेपालीहरुको मात्रै सामान हराएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यायले फ्लाई दुबईको उडान नै रोक्ने चेतावनी दिएका छन ।
फ्लाई दुबईबाटै आएका नेपाली यात्रुहरुको सामान लगातार चोरि हुन थालेपछि महाप्रवन्धक उपाध्यायले एयरलाइन्सका प्रतिनिधिलाई बोलाएर नेपालीहरुको सामानको सुरक्षा गर्न नसक्ने भए विमान उडान बन्द गर्न चेतावनी दिएका हुन ।
महाप्रबन्धक उपाध्यायले भने–‘घटना अर्को ठाउँमा हुन्छ, बदनामी हाम्रो विमानस्थलको हुन्छ, यो कति दिनसम्म सहने ? जसले यात्रु ल्याएको हो, उसले नै आफ्नो यात्रुको सामानको जिम्मा लिनुपर्दैन ? यदि यस्तै हो भने फ्लाई दुबई हाम्रो कालो सूचीमा पर्छ, त्यतिले नपुगे उडान नै बन्द हुन पनि सक्छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्