दर्शनार्थीले फालेका कट्टु र ब्राले फोहोर मुक्तिनाथ
नेपालको चर्चित धार्मिक स्थलहरु मध्य एक हो मुक्तिनाथ मन्दिर । जहाँ दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरूले भरिने गर्दछ । पछिल्लो ४ वर्ष यता आन्तरिक पर्यटकहरुको ओइरो लाग्ने गरेको यस मन्दिरलाई सारा संसारले मुक्तकण्ठले प्रसंसा गरेको कुरा यथार्थ हो ।
तर यतिबेला मुक्तिनाथ, मुक्तिनाथ जस्तो बन्न सकेको छैन । किनभने यहाँ आउने धर्मावलम्बीहरुले आफुले लगाएको भित्री वस्त्रदेखि सबै फोहोरजन्य चिजहरु मन्दिर परिसरमा फालेको तस्विरले अहिले सामाजिक संजाल भरिएको छ । गत बुधबार एकाएक यो कुराले सबैको मन मस्तिष्कलाई तताउने काम गर्यो ।
म्याग्दी जिल्लाका एक युवा अभियन्ता प्रकाश पौडेलले यस विषयलाई गम्भीर रुपमा लिएका छन् । गत बुधबार नै काम विशेषले बेनी फर्कनुपर्ने उनि मनमा केहि सकारात्मक विचार बोकेर पुन मुक्तिनाथ मन्दिर फर्किए र आफ्नो काममा लागिपरे ।
मंगलबार विशेष कामले मुस्ताङ आएका उनि एकपटक मुक्तिनाथ जाने निधो गरे । मुक्तिनाथ गएपछि उनको आँखा मन्दिर परिसरको फोहोर मैलामाथि पर्न गयो । र उनले स्थानीयहरुसँग सल्लाह लिएर फोहोर उठाउने निधो गरे । समय लम्बिइसकेकोले मङलबार त्यो सम्भव भएन ।
बुधबार पुनः केहि भाइहरुसँग मुक्तिनाथ उक्लिए र फोहोर उठाउन लागे । पछिल्लो समय नेपाल र भारतदेखि मुस्ताङको धार्मिक तथा पर्यटकिय स्थलहरु अवलोकन तथा भ्रमण गर्न घुइँचो लाग्ने यस स्थानहरूमा धेरै फोहोर थुप्रिएको छ । मुक्तिनाथ मन्दिर परिसरमा थुप्रिएको फोहोरजन्य चिजबस्तुले अहिले मन्दिरको सोभालाई कुरुप बनाइदिएको छ ।
हिमाल पारीको जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ परिसरमा फोहोर उठाउने क्रममा भित्री वस्त्र समेत भेटिएपछि मन्दिर व्यवस्थापन समितिलाई यतिखेर चुनौती थपिएको छ ।
हुनत भित्री वस्त्र भन्नाले अण्डरवेयर (कट्टु) लगायत सबै चिज पर्न जान्छ । तर यीनै फोहोर मध्येको एक लाज छोप्ने बस्तुले मन्दिर परिसरलाई नै कुरुप बनाउन लागेको प्रति युवा अभियन्ता पौडेलले दुखेसो पोखेका छन ।
उनले भने–‘हामीले मन्दिरलाई सफा बनाएर नै छाड्छौं तर व्यवस्थापन पक्षलाई आगामी दिनमा चुनौती दिन पनि हामी पछि हट्दैनौं ।’ मुक्तिनाथ मन्दिरमा रहेका १०८ धारा र दुई वटा पोखरीमा स्नान गरे जीवनभरिको पाप पखालिने जनविश्वास रहिआएको यथार्थ हो ।
तर पोखरीमा डुबिसकेपछि भक्तजनहरुले आफुले लगाएको भित्री वस्त्र अन्डरवेयर (कट्टु), ब्रा, थोत्रो झोला, चाउचाउका खोल, पोलिथिन झोला, लुङ्गि, मोजा, मिनरल वाटरका बोतल लगायतका फोहोरजन्य चिजहरु भेटिएको पौडेलले बताएका छन् ।
परिसर भित्रै यस्ता चिजहरु भेटिनाले भक्तजनहरु माथिनै प्रश्न चिह्न उठेको उनले बताएका छन् । दर्शनार्थीले फालेका ती वस्तुहरु मन्दिर परिसरको पाखो र रुखमा समेत यत्रतत्र भएको भेटिएको छ । अण्डरवेयर भेटिएपछि पौडेलको नेतृत्वमा मंगलवार र बुधवार मुस्ताङ अखिलका नेता पेमा छेदेन बिक एवम मन्दिरका कर्मचारीहरुको सहकार्यमा सरसफाई गरिएको हो । फोहरमैला उठाउने क्रममा करिब ८ बोरा फोहर संकलन भएको छ ।
धर्मको लागि भनेर पवित्र स्थलमा आउने अनि मन्दिरमा आएर आफ्नो लाज छोप्ने वस्त्र नै जथाभावी फाल्ने काम अत्यन्तै लज्जाको विषय भएको मुस्ताङका अखिल नेता पेमा छेदेन बिकले बताएका छन् । आगामी दिनमा मुक्तिनाथ घुम्न आउने दर्शनार्थीलाई आफ्नो फोहोरको सही व्यवस्थापन गर्न उनले सुझाव दिएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्