सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा रोजगारदाताले चाँडै विदेशी कामदार ल्याउने

जापान सरकारले शुक्रबारको मन्त्रिपरिषद बैठकबाट विदेशी कामदारलाई ल्याउने सम्बन्धि बिधेयक स्वीकृत गरेको छ । विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले ल्याइएको यो विधेयक मन्त्रिपरिषदबाट स्वीकृत भएसंगै संसदमा प्रस्तुत हुने बाटो खुलेको छ ।

श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक मन्त्रिपरिषदबाट स्वीकृत गरेको बताइएको छ । उक्त मस्यौदा विधेयक छलफलका लागि संसदमा प्रस्तुत गरिने जापानको मन्त्रिपरिषद सचिवालयले जनाएको छ । विधेयकमाथि विपक्षी दल सहित प्रधानमन्त्री शिन्जो आबेको दलका सांसदले समेत विरोध गरेका छन् ।

जापानी उद्योगी एवं व्यवसायीहरुले यो अत्यावश्यक रहेको भन्दै प्रधानमन्त्रीको कदमको स्वागत गरेका छन् । श्रमिक कामदारको अत्यन्त कमी रहेका क्षेत्रका लागि सीपयुक्त कामदार झिकाउन यो विधेयकले सहयोग गर्नेछ । विधेयकमा विदेशी कामदारलाई पाँच वर्षको भिसा दिइनेछ, तर उनीहरुका परिवारलाई सँगै ल्याउन दिइने छैन ।

राम्रो शैक्षिक योग्यता भएका र जापानी भाषा परीक्षामा राम्रो अङ्क ल्याउने विदेशी कामदारले यस्तो भिसा प्राप्त गर्ने व्यवस्था विधेयकमा गरिएको छ । यो भिसालाई अनिश्चितकालसम्म थप गर्न पाइने र केही वर्षपछि परिवारलाई समेत जापानमा ल्याउन पाइने छ ।

प्रधानमन्त्री आबेले जापानको कठोर आप्रवासी नीतिमा आमूल परिवर्तन नगरेको स्पष्ट गरेका छन् । प्रधानमन्त्री आबेले सांसदहरुसँग छलफल गर्दै जापानले श्रमिकको कमि रहेका क्षेत्रमा मात्र यो पछिल्लो व्यवस्था लागू हुने बताएका छन् । तर विधेयकका सम्बन्धमा व्यापक आलोचना हुन थालेको छ ।

वर्षको अन्त्य हुनुअघिनै यो विधेयक स्वीकृत हुने र आगामी वर्षको अप्रिलदेखि भिसा खुला हुने अपेक्षा गरिएको छ । विदेशी कामदारको आगमन बढेसँगै ज्यालामा कमी आउने खतरा बढेको छ । साथै, कामदारलाई जापानको सामाजिक सुरक्षा प्रणालीमा कसरी आबद्ध गर्ने र आप्रवासी कामदारमाथि हुनसक्ने शोषणलाई कसरी रोक्ने भन्ने प्रश्न समेत उठेको छ ।

जापानमा मजदूरको माग सबैभन्दा बढी कृषि, निर्माण, आतिथ्य–पर्यटन र नर्सिङ क्षेत्रमा रहेको छ । जापानमा कार्यरत धेरै न्यून सीपयुक्त कामदारहरु प्राविधिक तालिम कार्यक्रमको नाममा छन । यो कार्यक्रममा जापान आएका धेरै कामदारले उपयुक्त सुविधा नपाएको बताइन्छ ।

संसदमा बोल्दै प्रधानमन्त्री आबेले भनेका छन्–‘कृपया यसलाई गलत नसम्झनुस् । हामीले आप्रवासी नीतिका बारेमा कुरा गरिरहेका छैनौं । जापानको मौलिक मूल्य मान्यतामा कुनै किसिमले खलल पुग्ने गरी यो नीति आउने छैन । हामीले आपसी सम्मानका साथ सहअस्तित्वको वातावरण पनि निर्माण गर्दै जानुपर्दछ ।’

उनले जापान आउने विदेशी कामदारहरु सीमित अवधिका लागि आउने र फर्कने जानकारी दिएका छन् । जापानमा उच्च सीप भएका कामदारलाई मात्र भिसा दिने गरिएको छ । व्यवसायीहरुले केही खुकुलो आप्रवासी नियमका लागि लामो समयदेखि निरन्तर पहल गरिआएका थिए । जापानमा बेरोजगारी दर हाल २.५ प्रतिशत मात्र रहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्