गुण्डा समिरमानकी श्रीमती माया पेस्तोल सप्लायर्स
थुनामा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेतकी श्रीमती माया शेरचनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या गर्नका लागि हतियार (पेस्तोल) सप्लाई गर्ने कार्यमा शेरचनको संलग्नता रहेको भन्दै प्रहरीले शेरचनलाई पक्राउ गरेको हो ।
यसअघि कात्तिक ११ गते शरद गौचनको हत्यामा संलग्न रहेकामध्ये लोप्साङ भन्ने सोम तामाङ, अम्बरबहादुर राना र रोशन बुढाथोकीलाई अपराध महाशाखाकै टोलीले काँकडभित्ताबाट पक्राउ गरेको थियो । पक्राउ परेकाहरुको बयानका आधारमा समिरमानसिंह बस्नेतकी श्रीमती माया शेरचनलाई अपराध महाशाखाको टोलीले आइतबार पक्राउ गरेको हो ।
शुक्रबार अदालतमा बयान दिने क्रममा अभियुक्तहरु सोम तामाङ, अम्बरबहादुर राना र रोशन बुढोथोकीले माया शेरचनबाट हतियार लिई गौचनको हत्या गरेको बयान दिएका थिए । अदालतमा दिइएको बयानको आधारमा मायालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
गुण्डा नाइकेका रुपमा कहलिएका समिरमानसिंह बस्नेतलाई प्रहरीले खोजी सूचीमा राखेपछि पेस्तोल लगायतका हतियार बन्दोबस्ती र व्यवस्थापन समिरमानकी श्रीमती मायाले गर्दै आएको प्रहरीले दाबी गरेको छ । आपराधिक घटनामा संलग्नहरुलाई हतियारको व्यवस्था गरिदिने तथा हतियारको बेचबिखनमा समेत मायाको संलग्नता रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्