सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

वामपन्थी नेता तुलाधरको निधन, शव लाजिम्पाटमा

मस्तिष्कघात भई अस्पताल भर्ना गरिएका मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको उपचारका क्रममा निधन भएको छ । उनको ७७ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको अस्पतालले बताएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएपछि अस्पताल लगिएको थियो ।

तुलाधरमा मुटुको समस्या पनि थियो । मुुटुको धमनीमा अवरोध भएपछि एन्जियोप्लास्टि गरेर स्टेन्ट प्रत्यारोपण गरिएको थियो । त्यस्तै उच्च रक्तचाप र मधुमेहको समस्याबाट पनि पीडित उनमा पछिल्लो समय फोक्सोमा पनि समस्या देखिएको थियो ।

मष्तिस्कघात भएर कात्तिक ९ गते अन्नपूर्ण न्युरो अस्पताल भर्ना भएका उनलाई मृगौलाले काम गर्न छाडेपछि ५ दिनअघि नर्भिक अस्पताल लगिएको थियो । नर्भिकमा दुई तीन पटक डायलासिस गरिएको थियो ।

नर्भिकमा डा. पंकज जलान, डा. रमेश चोखानी डा. यादव भट्ट लगायतको चिकित्सकको टिमले तुलाधरको स्वास्थ्य जाँच गरेको थियो । आइतबार मुटु र फोक्सोले पनि काम गर्न छाडेपछि उनको निधन भएको अस्पतालले जनाएको छ ।

वामपन्थी नेता पद्मरत्न तुलाधरको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गरेका छन् । आइतबार दिउँसो ट्विटरमार्फत उनले तुलाधरले नेपालको वाम आन्दोलनमा पुर्याएको योगदान सदा स्मरणीय रहने बताएका छन् ।

नेता तुलाधरको शव दिउँसो ४ बजेतिर उनको निजी निवासतर्फ लगिएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, अर्का नेता माधवकुमार नेपाल, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, पूर्वसभामुख दमननाथ ढुंगाना, शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतका बिभिन्न दलका नेताहरु तुलाधरलाई अन्तिम श्रद्धाञ्जली दिन नर्भिक अस्पताल पुगेका थिए ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले पद्मरत्न तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनको अग्रज भएको बताएका थिए । तुलाधरले मानव अधिकार र साँस्कृतिक आन्दोलन संवद्र्धनमा ऐतिहासिक भूमिका निर्वाह गरेको दाहालले बताएका छन ।

पूर्वसभामुख दमननाथ ढुंगानाले तुलाधर समन्वयवादी मान्छे भएको बताएका थिए । ‘उहाँ समन्वयवादी मान्छे हो, मत मतान्तर हुन्छ, तर मिलेर देश चलाउनुपर्छ भन्नुहुन्थ्यो’ ढुंगानाले भने ‘अंग्रेजीमा भन्छन् नि परफेक्ट जेन्टलम्यान, उहाँ एकदम भलादमी मान्छे हो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS