सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नारायणहिटीमा शुल्क बढ्दै, अन्य भाग पनि खुल्ला

संग्रहालय स्थापना भएको एक दशक पछि नारायणहिटी संग्रहालयले प्रवेश शुल्क बढाउने तयारी गरेको छ । पुरातत्व विभाग मातहतमा रहेको संग्रहालयले शुल्क बढाउने प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पेश गरेको छ ।

करिब तीन साता अघि बसेको बैठकले शुल्क बढाउने प्रस्ताव गरेको हो । सो प्रस्ताव पुरातत्व विभाग हुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पेश भएको छ ।

प्रस्तावित नयाँ शुल्कमा नेपाली विद्यार्थीलाई ४०, सार्क राष्ट्रका पर्यटकका लागि ३ सय, तेस्रो मुलुकका पर्यटकका लागि ७ सय ५० र नेपाली पर्यटकका लागि १ सय ५० रुपैयाँ प्रस्ताव गरिएको छ ।

विभागको मातहतमा गए लगत्तै संग्रहालयले नयाँ शुल्कको प्रस्ताव गरेको हो । हाल विद्यार्थीका लागि २०, सार्कका पर्यटकका लागि २ सय ५०, तेस्रो मुलुकका पर्यटकका लागि ५ सय र नेपालीका लागि १ सय रुपैयाँ उठाउदै आएको थियो ।

संग्रहालयले श्रीपेच खुला गरेपछि शुल्क बढाउने तयारी गरेको थियो । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भनेका छन्–‘अब राजा वीरेन्द्रको निजी निवास श्रीसदन पनि खुला गर्ने तयारी गरेका छौँ, एक दशकसम्म नबढेको रकम बढाउने प्रस्ताव तयार गरेका हौँ ।’

दाहालका अनुसार संग्रहालयको गुरुयोजना अनुसार अन्य कक्ष समेत खुला गर्ने तयारी भएकोले शुल्क बढाउने प्रस्ताव गरिएको हो । दाहालले भने–‘नारायणहिटीमा ५२ कक्ष छन् । अब तत्कालै केही कक्ष खुला गर्नेछौँ ।’

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा बिसं २०६५ असार १ गते नारायणहिटी राजदरबारलाई संग्रहालय बनाउने निर्णय भएको थियो । लगत्तै २०६५ फागुन १५ देखि सर्वसाधारणलाई अवलोकन गर्न नारायणहिटी दरबारलाई संग्रहालयको रुपमा खुला गरिएको थियो ।

बिसं २०६८ सम्म १९ वटा कक्ष मात्र सर्वसाधारणका लागि खुला गरिएको थियो । ७ सय ५३ रोपनी क्षेत्रफलमा फैलिएको नारायणहिटी सग्रहालय परिसरमध्य ३ सय १८ रोपनी क्षेत्रफलमा मात्रै संग्रहालय सिमित छ ।

पूर्व राजाले प्रयोग गर्दै आएको घोडा तवेला, हेलिप्याड, झिल पोखरी, श्रीसदन, रणोद्धिपको दरबार लगायत दर्जनौ ऐतिहासिक सम्पदा खुला गर्न सकिएको छैन । दाहालले भने–‘संग्रहालय मात्रै होइन नारायणहिटी दरबार परिसरमा रहेको अन्य स्थान पनि सर्वसाधारणको लागि खुला गर्ने योजना सहित रकम बढाउने तयारी गरेका हौं ।’

गत असोज २९ गते देखि खुला गरिएपछी संग्रहालयमा श्रीपेच हेर्नेको भीड बढेको छ । संग्रहालयले श्रीपेच, राजदण्ड, दुईवटा मेस, ढाल तरवार, रानीले लगाउने मुकुट (टायरा), एउटा झारी, दुई वटा चमर सहितका एक दर्जन सामाग्री बुलेटप्रुफ सोकेश भित्र राखेको छ । संग्रहालयको सुर्खेत र रुपन्देही कक्षमा ती सामाग्री राखिएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्