सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अदुवाले दोब्बर भाउ पाएपछी रुकुमका किसान खुशी

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका किसानले उत्पादन गरेकोे अदुवाले यसवर्ष राम्रो बजार भाउ पाएको छ । गतवर्षको तुलनामा भन्दा यो वर्ष यहाँका किसानले उत्पादन गरेको अदुवाले दोब्बर भाउ पाएको किसानले बताएका छन् ।

गएको वर्ष प्रतिक्विन्टल १७ देखी १८ सयमा बिक्रि हुने गरेको अदुवाले यसवर्ष ४ हजार सम्मको बजार भाउ पाएको छ । अदुवाका लागि पकेट क्षेत्र मानिने खारा, मुरु, पेउघा, नुवाकोट लगायत छिमेकी जिल्ला सल्यान बाँफूखोलाका किसान समेत अदुवाले राम्रो बजार भाउ पाउँदा खुशी भएका छन् ।

गतवर्ष यहाँका किसानले उत्पादन गरेको अदुवाले सोचेजस्तो बजार भाउ नपाउँदा केही किसानले घरमै अदुवा थन्काएर राख्नु परेको थियो । तर यो वर्ष अदुवाको सिजन शुरु भएसंगै बजार भाउ राम्रो भएको स्थानीय चोपबहादुर खड्काले बताएका छन् ।

खड्काका अनुसार यसक्षेत्रका अदुवा किसानले प्रत्येक वर्ष प्रतिघर १० देखी १५ क्विन्टल सम्म अदुवा उत्पादन हुने र त्यसबाटै घरपरिवार धान्न सजिलो हुने बताउँदै आएका छन् ।

स्थानीय बिरबहादुर ओलीले गतवर्ष त्रिवेणी गाउँपालिकाबाट एक करोड १७ लाख बराबरको अदुवा देश तथा विदेशका विभिन्न ठाउँमा निर्यात भएको बताए । ओलीका अनुसार बिक्रि नभएको अदुवाको भने किसानले सूटो बनाएर स्थानीय बजारमा बिक्रि गर्ने गरेका छन् ।

विशेष गरेर त्रिवेणी गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, र ७ का किसानले सबैभन्दा बढी अदुवा उत्पादन गर्ने गर्दछन् । यहाँका किसानले उत्पादन गरेको अदुवा संकलनका लागि हाल घरआँगनमै व्यापारीले प्रतिकिलो ४० रुपैंयामा अदुवा खरिद गर्न शुरु गरेका छन् ।

देशका विभिन्न ठाउँबाट अदुवाको माग बढ्दै गएपछि किसानको घर सम्म पुगेर अदुवा संकलन गरिएको स्थानीय व्यापारी धनवीर ओलीको भनाई छ । व्यापारी ओलीका अनुसार किसानबाट खरिद गरिएको अदुवा प्रतिकिलो ५० रुपैंयाका दरले बिक्रि भईरहेको बताईएको छ ।

अदुवा उत्पादनका हिसाबले जिल्लामै पकेट क्षेत्र मानिएको त्रिवेणी गाउँपालिकाबाट बर्षेणी ३ टन भन्दा बढी अदुवा उत्पादन हुने गर्दछ । यसक्षेत्रको अदुवा दाङ्ग, नेपालगञ्ज, बुटवल, काठमाडौं तथा भारतको गोरखपुर र कानपुर सम्म निर्यात हँदै आएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्