लोकमानको बचाउ गर्न नसकिने कांग्रेसको निश्कर्ष
कांग्रेस सभापति शेरबहादुर देउवाले जनमत लोकमान सिंह कार्कीको विपक्षमा रहेको भन्दै उनको रक्षा गर्न गाह्रो भएको निश्कर्ष निकालेका छन । कार्कीलाई बारम्बार सम्झाउँदा पनि नटेरेकाले यस्तो अवस्था सिर्जना भएको सभापति देउवाको भनाई छ ।
कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे छलफल गर्न बसेको केन्द्रीय कार्यसमितिको बैठकमा आक्रामक रुपमा प्रस्तुत हुँदै सभापति देउवाले अख्तियार प्रमुख कार्कीले शाही आयोगले भन्दा बढी तर्साएको र संस्थालाई नै ध्वस्त पारेको आरोप लगाएका छन । बैठकमा देउवाले भने–‘यसरी गर्न हुँदैन भनेर मैले कयौं पटक भनेँ । यसो गरे, यस्तो गरेपछि यस्तै ताल हुन्छ ।’
अहिले जनमत लोकमानविरुद्ध रहेको भन्दै देउवाले त्यसलाई पार्टीले पनि हेर्नुपर्ने बताएको बैठकमा सहभागी एक नेताले बताएका छन । आवेगमा नभई जिम्मेवार भएर निर्णय लिनुपर्ने भन्दै देउवाले लोकमानको रक्षा गर्न पनि गाह्रो भएको र विपक्षमा जान पनि गाह्रो भएको बताएका थिए ।
कांग्रेस सभापति देउवाले लोकमानविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नुपूर्व बुधबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा वलीसँग सामान्य छलफल भएको स्वीकार गरेका छन । देउवाले भने–‘निर्वाचनबारे सहमति गर्न बोलाएको होला भनेर गएको त महाअभियोगको कुरा पो रहेछ । मैले पार्टीमा छलफल गर्छु भनेको थिएँ तर दर्ता भइसकेछ ।’
सभापति देउवाले महाअभियोग दर्ता भएकोबारे बुधबार राति १० बजे प्रधानमन्त्रीले फोन गरेपछि मात्रै आफूले थाहा पाएको बैठकमा बताएका छन । बिहीबार विहानै प्रधानमन्त्री प्रचण्ड आफ्नो निवासमा आएको र यसबारे उनको पार्टीमा पनि कुनै निर्णय र छलफल नभएको बताएको देउवाले बैठकमा सुनाएका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्