सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

लोकमानको गोप्य योजना थाहा पाएपछी महाअभियोग

lokman-singh-karki

अदालतलाई छल्न विदेश गएका अख्तियार प्रमुख लोकमानसिंह कार्की त्रिभुवन विमानस्थलमा पाइला टेक्दा नटेक्दै संसदमा उनी विरुद्ध महाअभियोग दर्ता भयो । जुन धेरैका लागि आश्चर्यको बिषय थियो । नहोस पनि कसरी ! जुन कुराको माग गर्दै डा. गोविन्द केसी १४ दिन अनसन बस्दा पनि सुनुवाइ भएको थिएन ।

बुधबार एकाएक कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भयो, त्यो पनि पछिल्लो समय दुई ध्रुवमा रहेका सत्तापक्ष माओवादी र विपक्षी दल एमाले मिलेर । यो कसरी सम्भव भयो ? यसका पछाडि केही गोप्य सुचनाहरु यस्ता रहेछन् ।

स्रोत भन्छ–‘लोकमानले विदेशबाट फर्कनासाथ एमाले र माओवादीका प्रमुख नेताहरुलाई भ्रष्टाचारको अभियोगमा डाम्न खोजेका थिए, उनी आफैं डामिएका छन् ।’ अदालतबाट जोगीन सरकारी खर्चमा क्यानडातिर लागेका लोकमानले केही समय दुबईमा बसेर एमाले नेताहरुलाई निशाना बनाउने योजना बनाएका थिए ।

नेताहरुले लोकमानको यो चालबाजीको सुईँको पाएपछी कार्की त्रिभुवन विमानस्थलमा ओर्लँदा नओर्लंदै बुधबार साँझ संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको रहेछ । एमाले र माओवादी उच्च स्रोतको दाबी छ–‘लोकमान एमाले र माओवादीका दुबै दलका प्रमुख नेताहरुलाई मुद्दा हाल्ने योजना सहित नेपाल आएका हुन् ।’

महाअभियोग दर्ता नगरेको भए आज बिहानै उनले पत्र काटिसक्ने एक माओवादी नेताको दाबी छ । उनले बताए अनुसार लोकमानले तत्कालीन सेना समायोजन विशेष समितिमा रहेका एमाले र माओवादीका प्रमुख नेताहरुलाई नै पत्र काट्ने योजना बनाएका थिए ।

यसमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालदेखि डा. बाबुराम भट्टराई र प्रधानमन्त्री प्रचण्डसम्मको नाम रहेको उनको तर्क छ । साथै एमाले अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ र अग्नि खरेल लगायतको नाम पनि लोकमानको सूचीमा रहेको स्रोतको दाबी छ ।

‘कार्की प्रतिशोधपूर्ण तवरले आएपछि अकस्मात महाअभियोग नै दर्ता गर्नुपर्ने अवस्था आएको हो’ माओवादीको उच्च स्रोतले भन्यो–‘अकस्मात नयाँ कदम चाल्नुपर्ने हुँदा पार्टी भित्र र सत्तारुढ दलसँग समेत छलफल गर्न नभ्याइएको हो ।’

लोकमानले सर्बोच्चमा आफ्नो मुद्दा मिलाइ दिन प्रमुख दलका नेताहरुलाई दबाव दिएका थिए । दबावले काम नगरेपछि कार्की नेताहरुलाई पत्र काट्ने योजनासहित दुबईबाट बिदा छोट्याएर नेपाल आएका थिए । यो सुईँको पाएपछी नेताहरुले कार्की अख्तियार नपुग्दै महाअभियोग दर्ता गराई उनलाई राति नै निलम्बनको पत्र थमाईदिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्