चन्द्रपुरमा कुखुराले लोक दोहोरी गित सुन्न थालेपछी
सुन्दा अचम्म लाग्ला ! कुखुराले गीत सुन्छ । त्यो पनि लोकगीत । चन्द्रपुर–४ स्थित ठाडाटोलमा सञ्चालित आईएस पोल्ट्री फार्मका कुखुरालाई यस्तो बानी परेको छ । कुखुरालाई गीत सुनाउनकै लागि फार्ममा बुफर झुन्ड्याइएको छ, जसमा थरीथरीका नेपाली गीत बजाइन्छ ।
गीत सुन्न पाएपछि कुखुरा शान्त हुन्छन् । त्यति मात्र होइन, कुखुरालाई गीत सुनाउन एक जना प्राविधिक नै खटिएका छन् । फार्म आसपास कुनै गाडी वा ठूलो आवाजसहित मानिस दौडिँदा पनि कुखुरा तर्सिने र एकअर्कामा च्यापिएर मर्न सक्ने भएकाले लोकगीतको तालमा झुम्ने बानी पारेको सञ्चालक फिरोज श्रेष्ठले बताएका छन् ।
संगीतको तालमा ध्यानमग्न भएपछि कुखुराले अण्डा धेरै पार्ने उनको दाबी छ । ‘कुखुरालाई कुनै किसिमको ठूलो आवाज मन पर्दैन,’ उनले भने, ‘मन्द आवाजमा गीत बजाएपछि एकसुरले बस्ने बानी पर्छ ।’ दैनिक कम्तीमा ८ घण्टा लोकगीत बजाउने गरेको श्रेष्ठले सुनाए ।
रातिचाहिँ गीत बन्द गरिन्छ । कुखुरालाई संगीतमा भुलाउने यो उपाय वरपरका अन्य फार्ममा भने अपनाइएको छैन । गीत सुनाउनुअघि बाहिरको आवाजले तर्सेर एउटै पोको परी धेरै कुखुरा मरेको उनले बताए । उनका अनुसार एकचोटि कुखुरा तस्र्यो भने दिनभरि तर्सिरहन्छ । उनले भने–‘म्युजिक बजाउन थालिएपछि तर्सिएको छैन ।’
युवा व्यवसायी श्रेष्ठ र धु्रव तिमल्सिनाले एक बिघा जग्गामा झन्डै ८ करोड लगानीमा पोल्ट्री फार्म सञ्चालन गरेका हुन् । पाँचवटा खोर (ब्लक) बनाएर सुरुमा चितवनबाट ८ हजार चल्ला पालिएको थियो । एकपटक चल्ला ल्याउँदा २० लाखभन्दा बढी खर्च हुने श्रेष्ठले बताए । फार्ममा रहेका १३ हजार हाराहारी कुखुरा सबै पोथी हुन् ।
फार्ममा दैनिक ११/१२ हजारवटा अण्डा उत्पादन हुन्छ । तिनले १६/१७ महिनासम्म अण्डा पारिरहन्छन् । त्यसपछि ती कुखुरा मासुका लागि प्रयोग गरिन्छ । फार्ममा ७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । कुखुराको हेरचाहका लागि तीनवटा जर्मन सेफर्ड कुकुर पालिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्