देउवा बिरोधिहरुको सुजाताको घरमा गोप्य छलफल
पार्टी सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा एकलौटी ढंगले निर्णय गरी पार्टीलाई आफ्नो पेवाको रुपमा सञ्चालन गरेको भन्दै लामो समयदेखी मोर्चाबन्दी गरिरहेका रामचन्द्र पौडेल र कृष्ण सिटौला समुहले नेतृ सुजाता कोइरालाको निवासमा सभापति शेरबहादुर देउवा विपक्षधरको समूहका नेताहरुको लञ्च मिटिङ गरेको छ ।
नेतृ सुजाता कोईरालाको मण्डिखाटारस्थित निवासमा भएको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहका साथै नेताहरु रामशरण महत, अर्जुननरसिंह केसी र डा. शेखर कोइराला सहभागी भएका थिए । पूर्वमहामन्त्री कृष्ण सिटौला भने राजधानीबाहिर भएका कारण अनुपस्थित रहेका थिए ।
पौडेल र सिटौला समूहमा ६ नेता लगातार पार्टी नेतृत्वविरुद्ध मोर्चाबन्दी गर्दै आएका छन् । त्यसमा महामन्त्री शशांक र नेतृ कोइरालालाई पनि समावेश गर्ने प्रयासमा सुजाता निवासमै भेला भएको एक नेताले बताएका छन् । नाम नबताउने सर्तमा एक नेताले भने–‘अब उहाँहरु पनि हामीसँगै आउनुहुन्छ भन्नेमा आशावादी छु ।’
विधान संशोधनको प्रक्रिया चलिरहेका बेला पार्टी नेतृत्वले बहुमतको बलमा विजयकुमार गच्छेदारलाई उप–सभापति बनाएपछि पौडेल र सिटौला समूहका नेताहरु रुष्ट बनेका छन् । पार्टीलाई सुदृढ बनाउन सामूहिक रुपमा अघि बढ्नुको विकल्प नभएको निष्कर्ष निकालिएको एक सहभागीले बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्