सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

देउवा बिरोधिहरुको सुजाताको घरमा गोप्य छलफल

पार्टी सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा एकलौटी ढंगले निर्णय गरी पार्टीलाई आफ्नो पेवाको रुपमा सञ्चालन गरेको भन्दै लामो समयदेखी मोर्चाबन्दी गरिरहेका रामचन्द्र पौडेल र कृष्ण सिटौला समुहले नेतृ सुजाता कोइरालाको निवासमा सभापति शेरबहादुर देउवा विपक्षधरको समूहका नेताहरुको लञ्च मिटिङ गरेको छ ।

नेतृ सुजाता कोईरालाको मण्डिखाटारस्थित निवासमा भएको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहका साथै नेताहरु रामशरण महत, अर्जुननरसिंह केसी र डा. शेखर कोइराला सहभागी भएका थिए । पूर्वमहामन्त्री कृष्ण सिटौला भने राजधानीबाहिर भएका कारण अनुपस्थित रहेका थिए ।

पौडेल र सिटौला समूहमा ६ नेता लगातार पार्टी नेतृत्वविरुद्ध मोर्चाबन्दी गर्दै आएका छन् । त्यसमा महामन्त्री शशांक र नेतृ कोइरालालाई पनि समावेश गर्ने प्रयासमा सुजाता निवासमै भेला भएको एक नेताले बताएका छन् । नाम नबताउने सर्तमा एक नेताले भने–‘अब उहाँहरु पनि हामीसँगै आउनुहुन्छ भन्नेमा आशावादी छु ।’

विधान संशोधनको प्रक्रिया चलिरहेका बेला पार्टी नेतृत्वले बहुमतको बलमा विजयकुमार गच्छेदारलाई उप–सभापति बनाएपछि पौडेल र सिटौला समूहका नेताहरु रुष्ट बनेका छन् । पार्टीलाई सुदृढ बनाउन सामूहिक रुपमा अघि बढ्नुको विकल्प नभएको निष्कर्ष निकालिएको एक सहभागीले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS