सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

हिन्दु धर्मलाई गाली गर्दै धर्म परिवर्तन गराउने खोरमा

केही दिन अघि बुट्वलको सुकुम्वासी वस्तीमा बिभिन्न लोभ लालच देखाई धर्म परिवर्तन गराउन हिँडिरहेका दुई जना जापानी र दुई जना नेपाली नागरिक पक्राउ परेको समाचार सेलाउन नपाउँदै बर्दियामा पनि धर्म परिवर्तन गराउँदै हिँडेका एक अष्ट्रेलियन नागरिकसहित ४ जना पक्राउ परेका छन् ।

बर्दियाको गुलरिया नगरपालिकास्थित बजार क्षेत्रमा घरदैलो गरेरै क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिँडेका एक अष्ट्रेलियन महिलासहित चारजनालाई प्रहरीले पक्राउ गरेको हो ।

केही दिन अघि बुट्वलको सुकुम्वासी वस्तीमा आर्थिक प्रलोभन देखाई निशुल्क ट्युसन पढाउने भन्दै वाईवलको प्रार्थना गराउँदै हिड्ने दुई जापानि महिला ४९ वर्षीया यासुको ओबा र ४५ वर्षीया मारी क्युरा सहित गोरखा घर भइ बुटवल बस्ने तीर्थमाया घले र तिलोत्तमाकी पुष्पा घिमिरेलाई प्रहरीले पक्राउ गरेको थियो ।

धर्मको प्रचारप्रसार गर्दै हिँडेको सूचनाका आधारमा सोमवार जिल्ला प्रशासन कार्यालय बर्दियाले उनीहरुलाई कार्यालयमा झिकाई जाँचबुझ गर्दा धर्म प्रचार गरेको पाइएपछि प्रहरीको जिम्मा लगाइएको हो ।

प्रहरीले ईसाई धर्म प्रचार गर्दै हिँडेका ४ जना नेपालीसहित एकजना अष्ट्रेलियन महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताएका छन् ।

त्यसक्रममा पासपोर्ट नम्बर एन ७००७३७११ भएको बताउने अष्ट्रेलियन महिला क्याटिया ग्रान, नेपालगञ्ज निवासी श्वेता मानन्धर, श्रीजन मानन्धर, दैलेखका तेजबहादुर शाही र मधुवन नगरपालिका–६ बर्दियाका दलबहादुर तिरुवा पक्राउ परेका हुन् ।

भिजिट भिषामा नेपाल छिरेकी विदेशी महिलाले धर्म प्रचारमा लागेको पाइएकाले अनुसन्धानपछि उनलाई अध्यागमन विभाग काठमाडौँ पठाइएको एसपी मैनालीले जानकारी दिएका छन् ।

एसपी मैनालीले भनेका छन–‘अनुसन्धानका क्रममा विदेशीसहित अन्य चारजनाले घरघरमा गई धर्म प्रचार र विभिन्न प्रलोभनमा धर्म परिवर्तन गरेको पाइएकाले मुलुकी अपराधसंहिता ०७४ को दफा १५५ बमोजिम धर्मसम्बन्धी कसुरमा मुद्दा चलाएका छौं ।’

कानुन विपरित जबरजस्ती धर्म परिवर्तन गराउने कसैलाई पनि नछाडिने उनले बताएका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियाले उनीहरुबाट सोधपुछ र चेकजाँचका क्रममा बाइबल, डायरी, पर्चा पम्प्लेट लगायत भिडियो फेला पारेको छ ।

यसरी धर्म प्रचार गर्दै हिँड्नेहरुले हिन्दु धर्मको बारेमा नकारात्मक टिप्पणी गर्दै आफ्नो धर्मको बारेमा ब्यापक भ्रम र बिभिन्न आर्थिक प्रलोभन देखाई धर्म परिवर्तन गराउने गरेको पाईएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS