सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जंगलमा खेर जाने सिस्नुले बनायो महिलालाई उद्यमी

वनमा यतिकै खेर जाने गरेको सिस्नु एवं (अल्लो) अहिले बागलुङ ताराखोलाका स्थानीय महिलाका लागि गतिलो आम्दानीको स्रोत बनेको छ । ताराखोला क्षेत्रमा बढी मात्रामा पाइने चाल्ने सिस्नु (अल्लो)बाट नरम प्रकारको धागो उत्पादन गर्न सकिने भएपछि अहिले यहाँका स्थानीय महिलाहरू त्यसको प्रशोधन गरी आम्दानीको गतिलो स्रोतका रूपमा विकास गर्न आकर्षित भएका छन् ।

वन जंगल, खोल्साखोल्सी र भीर पखेरा लगायतका क्षेत्रमा उम्रिने मसिना काँडैकाँडा भएको वनस्पतिको लोक्ताबाट मूल्यवान कपडा उत्पादन गर्ने परम्परागत उपायलाई व्यवसायीकरण गर्दै अहिले यहाँका स्थानीय महिलाले राम्रो आम्दानी गर्न सफल भएको ताराखोलाका उद्यमीहरू बताउँछन् ।

परम्परागत रूपमा आफ्ना पुर्खाहरूले भाँगो, चाल्ने सिस्नु लगायतका वनस्पतिका लोक्ताबाट डोरी, नाम्ला तथा दाम्लाहरू निर्माण गर्ने गरेकोमा त्यसलाई कपडाका रूपमा विकास गरिँदै आएको स्थानीय उद्यमी सपना बुढाथोकीले बताइन् ।

चाल्ने सिस्नुको लोक्ताबाट तयार पारिने कपडा मुलायम, तापक्रम अनुकूल, हलुंगो तथा देख्नलाई आकर्षण हुने भएकाले बजारको मागअनुसार आफूहरूले लाभाङ जुनतारा साना लघु उद्यमी अल्लो धागो उत्पादन समूह स्थापना गरेर धागो तथा कपडा उत्पादनको काम सञ्चालन गरेको उद्यमी बुढाथोकीको भनाइ छ ।

स्थानीयले जंगलबाट संकलन गरेर ल्याएको काँचो अल्लो खरिद गरेर समूहले त्यसलाई सुकाउने, खरानी पानीमा पकाउने, कुट्ने, सफा तरिकाले धुने, कमेरो लगाएर घाममा सुकाउने र सुकेको अल्लोबाट भुँवा निकालेर धागो उत्पादन गर्ने गर्दछन् ।

अल्लोको संकलन, प्रशोधन तथा बजारीकरणका लागि ताराखोला गाउँपालिकाले धागो बनाउने मेसिन समूहलाई प्रदान गरेपछि आफूहरूलाई सहज भएको समूहका अध्यक्ष जस्मती रोकाले बताइन् । समूहमा स्थानीय १४ जना महिला उद्यमी अल्लो प्रशोधनमा सक्रिय छन् ।

उनीहरूले हरेक दिन ३ घण्टा काम गर्दछन् । समूहमा संकलन हुने अल्लोबाट धागो उत्पादन गरेर राख्ने महिलाहरूले मागअनुसार विभिन्न कपडासमेत तयार गर्ने गरेको समूहका अध्यक्ष रोकाले बताइन् ।

अहिले समूहले अल्लोबाट निर्मित कपडाको प्रतिमिटर ४ सय रुपैयाँ, तयारी हाफ सुइटरको २ हजार रुपैयाँ, पूरा साइजको सुइटरको ३ हजार रुपियाँ र प्रतिकेजी धागो १ हजार ५ सय रुपियाँमा बिक्री गर्दै आएको छ ।

एक केजी धागोबाट दुईवटासम्म सुइटर बनाउन सकिने भएकाले अन्य क्षेत्रका हस्तकलामा काम गर्ने महिलाले धागो खरिद गरेर लैजाने गर्दछन् । महिलाहरू समूह बनाएर अल्लो उत्पादन, प्रशोधन र बिक्री वितरणमा सक्रिय भएपछि त्यसै खेर जाने वनस्पतिको सदुपयोग हुनुका साथै आम्दानीको स्रोतको रूपमा विकास भएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए ।

महिलाहरूले जंगलबाट ल्याउने काँचो अल्लोलाई समूहले प्रतिकेजी ५५ रुपैयाँमा खरिद गर्ने र स्थानीय वन समूहलाई प्रतिकेजी पाँच रुपैयाँ कर तिर्ने भएकाले स्थानीयको आम्दानीसँगै वन समूहलाई समेत फाइदा पुगेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS