सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

निलम्बित लोकमान निवासबाटै अख्तियार चलाउँदै

Lokmansing Karki

निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीले निवासबाटै अख्तियार सञ्चालन गरेको पाइएको छ । आयोग मुख्यालयसँगै रहेको अख्तियार प्रमुखको क्वार्टरबाटै कार्कीले प्रमुख आयुक्तले झैं नियमित गतिविधि गरिरहेका छन् ।

कार्कीले शुक्रबार कर्मचारीको विदेश भ्रमण सम्बन्धी निर्णय गरेको स्रोतले बतायो । निलम्बन हुनुअघिको मिति राखेर कार्कीले कर्मचारीहरू कोरिया पठाउने सूची स्वीकृत गरेको बुझिएको छ । सो सम्बन्धी फाइल लिएर अख्तियारका सहसचिव बेगेन्द्र शर्मा कार्कीको निवास पुगेका थिए ।

कार्कीको कार्यकक्ष र सचिवालयमा रहेका महत्वपूर्ण फाइल र प्रमाणका कागजात निवासमा पु¥याइएको स्रोतले बताएको छ । अधिकांश ठूला, संवेदनशील र महत्वपूर्ण मुद्दाका अनुसन्धान अधिकृतले सोझै प्रमुख आयुक्त कार्कीलाई ब्रिफिङ गर्थे ।

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि पनि लोकमानका आलोचक र विरोधीमाथि निगरानी र गोप्यताको जासुसी गर्न प्रयोग भएको टिम झनै सक्रिय भएको छ । अहिले कतिपयको फोनको ‘कल डिटेल’ र म्यासेजका विवरण तान्ने काम भइरहेको छ । यस्ता विवरण टंगाल परिसर स्थित कार्कीकै निवासमा पु¥याइन्छ ।

कार्कीसँग निकट रहेर काम गरेका आयुक्त राजनारायण पाठकले आयोग भित्रका गतिविधिबारे उनलाई भेटेर जानकारी गराइरहेका छन् । सुरक्षाकर्मी, सचिवालयका कर्मचारी कार्कीप्रति बफादार छन् । उनले विशेषज्ञका रूपमा नियुक्त गरेका केही व्यक्तिले हरेक महाशाखाको निगरानी गरिरहेको बताईएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्