सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उदयपुरकी एल्जिनाको हत्या र बलत्कार आफ्नै साथीबाट

बाख्रा चराउन गएको बेला हराएर दुई दिनपछी बलत्कार गरी हत्या गरिएको अवस्थामा भेटिएकी उदयपुरको लाफागाउँकी १३ बर्षिया बालिका एल्जिनालाई उनकै सहपाठीले बलत्कार गरी हत्या गरिएको रहश्य खुल्न आएको छ ।

रौतामाई गाउँपालिका ३ लाफागाउँ अमलाकी १३ वर्षीया एल्जीना खड्कालाई एउटै कक्षामा पढ्ने सहपाठी १५ वर्षीय र गाउँका अर्का १८ वर्षीय किशोरले बलात्कार गरी हत्या गरेको रहश्य प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी घट्नामा संलग्न अभियुक्तमध्येका १५ वर्षीय दीपेन्द्र राई मावि रसुवा लाफागाउँको कक्षा ९ मा एल्जीनासँगै पढ्ने सहपाठी भएको जानकारी दिएको छ ।

बाख्रा चराउन गएकी एल्जीनालाई बलात्कार गरी हत्या गर्ने कार्यमा संलग्न अर्का १८ वर्षीय पदमवीर राई एल्जीनाकै छिमेकी रहेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताएका छन् । लासको पोष्टमार्टम रिपोर्टले पनि बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको राईले बताएका छन् ।

भाईटीकाको भोलिपल्ट २४ गते बाख्रा चराउन नजिकैको जंगल गएकी एल्जीना साँझ नफर्केपछि खोज्दै जाँदा भोलिपल्ट दिउँसो घरभन्दा ७ सय मिटर टाढा अर्धनग्न अवस्थामा मृत फेला परेकी थिइन् ।

मुखमा नेप्कीन पेपर कोचिएको, कुर्ता सुरुवाल फुकालेको, शरिरका बिभिन्न भागमा घाउचोट लागेको तथा घाँटीमा नंग्राले कोतरेको अवस्थामा मृत भेटिएकी एल्जीनालाई किशोरद्वयले बलात्कार गरी हत्या गरेको प्रहरीको ठहर छ ।

हत्या आशंकामा छिमेकी ५ जनालाई २५ गते र थप १ जनालाई २६ गते प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । उनीहरूमध्ये आफुसँगै पढ्ने सहपाठीसहित २ जना दोषी ठहरिएका हुन् ।

‘एल्जीनालाई सँगै पढ्ने साथी र छिमेकी मिलेर सुरुमा बल प्रयोग गरेर लडाएछन’ अपराधीको बयान एसपी राईले पत्रकारलाई सुनाए ‘त्यसपछि बलात्कार गरी घाँटी थिचेर हत्या गरेछन् ।’

पोष्टमार्टम रिपोर्टले यो कुरा प्रमाणित गरिसकेको र दुवै दोषीले पनि आफ्नो अपराध स्वीकारि सकेको राईले बताए । बालिका हत्याको घट्ना जघन्य अपराध भएकाले प्रहरीले संवेदनशिल मान्दै तत्काल घट्नास्थलमा डिएसपी अर्जुन रानाभाट नेतृत्वको टोली परिचालन गरेको थियो ।

अनुसन्धानबाट सोचेभन्दा छिटो नतिजा हात पार्न प्रहरी सफल भएको एसपी राईको भनाई छ । यस्तै प्रकृतिको घट्ना घटेको ४ महिनासम्म कन्चनपुरकी निर्मला पन्तका हत्यारा अँझै पत्ता नलागिरहेको अवस्थामा एल्जीनाका हत्यारा यति छिटो पक्राउ गर्न सफल हुनुले उदयपुर प्रहरीको मनोबल बढेको छ भने प्रहरीप्रति जिल्लाबासीको विश्वास जागेको छ । एसपी राईले यो सफलतामा सबैको सहयोग पाएको बताएका छन् ।

‘यो निकै संवेदनशिल र कम्प्लिकेटेड केस हो, हामी यत्ति छिट्टै नतिजा हात पार्छौं कि पार्दैनौं भन्नेमा थियौं’ एसपी राईले भने ‘तर, प्रहरी अधिकृत, जवान तथा स्थानीय जनप्रतिनिधि र सबैपक्षको सामुहिक प्रयासले छिट्टै नतिजा हात पर्यो । यसले हाम्रो मनोबल बढाएको छ भने जिल्लाबासीमा शान्ति सुरक्षाको विश्वास पलाएको छ ।’

घट्नास्थलमा संघीय प्रहरी इकाई धरानबाट तालिमप्राप्त कुकुरसहितको विशेष सुरक्षा टोलीसमेत पठाइएको थियो । तर, २४ घण्टासम्म कुकुरले पत्ता लगाउन नसकेपछि सो टोली फर्केपनि प्रहरी आफैले हत्यारा पत्ता लगाउन सफल भएको एसपी राईले बताएका छन् ।

घट्ना संवेदनशिल भएकै कारण पोष्टमार्टम गर्न पनि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको उनले बताए । धरानबाट शव बुधवार दिउँसै आइपुगेपनि पोष्टमार्टम रिपोर्ट राति मात्र आइपुगेकाले अपराधीलाई बिहीबार मात्र सार्वजनिक गर्नुपरेको उनले बताएका छन् ।

एसपी राईले आफ्ना नानीहरूलाई सचेत तवरले हिँडडुल गराउन र आवश्यक परे सुरक्षा माग्न पनि अभिभावकलाई आग्रह गरेका छन् । समाज विसंगतितर्फ उन्मुख हुँदै गएको अवस्था रहेकाले सबै अभिभावकहरुले आफ्ना छोराछोरीलाई सुरक्षित राख्न, एक्लो हिँड्न नदिन र खाँचो परे प्रहरी गुहार्न उनको आग्रह छ ।

‘समय खराव छ, जताततै अशान्ति र अमानवीय घट्नाहरु भइरहेका छन्’ उनले सचेत गराए ‘त्यसैले नानीहरुलाई जथाभावी एक्लै हिँडडुल गर्न नदिनुहोस्, आवश्यक परे हामीलाई खवर गर्नुहोस्, प्रहरी जनताको सुरक्षामा २४ सै घण्टा तैनाथ छ ।’

मिलनसार थिइन एल्जीना, वलत्कारी दिपेन्द्र पनि सोझा
सहपाठीहरुका अनुसार पढाईमा मध्यमस्तरकी एल्जीना कक्षामा सबैसँग मिल्ने स्वभावकी थिइन् । केटाहरूसँग काम पर्दा मात्र बोल्ने स्वभावकी उनी आफ्नै साथी दीपेन्द्रले ज्यान लिन्छ भन्ने थाहा भएको भए बादविवाद र झैझगडा गर्थिहोलिन् । तर, उनीहरूबीच त्यस्तो कुनै बातविवाद भएको थाहा नभएको बाल्यकालदेखि सँगै पढ्दै आएकी सविता तामाङ बताउँछिन् ।

कक्षामा रोल नं. ४ भएकी सविताका अनुसार एल्जीनाको रोल नं. १९ हो । कक्षाका ३८ विद्यार्थीमध्ये दीपेन्द्र पढाईमा ठिकठिकै थिए । ‘एल्जीना सोझी थिइ, दीपेन्द्र पनि सोझै स्वभावको हो, एल्जीना र उबीच झगडा भएको पनि कहिल्यै देखेको छैन’ अन्तरंग साथी गुमाउँदाको पीडाले भावविह्वल सविताले भनिन् ‘त्यस्तो हुन्छ भनेर सपनामा पनि सोँचेको थिइँन, अचम्म लागेको छ ।’

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष खिलराज राईका अनुसार यो घट्नापछि लाफागाउँबासीमा ठूलो त्रास सिर्जना भएको छ । उनका अनुसार दिनदहाडै यस्ती कलिली बालिकाको बलात्कारपछि विभत्स हत्या हुनुले सिंगो विद्यालय परिवार शोकमग्न हुन पुगेको छ भने विद्यार्थीहरु स्कुल आउन मानिरहेका छैनन् ।

‘कन्चनपुरकी निर्मला पन्तको घट्ना सुनेर अचम्म लागेको थियो’ राईले भने ‘अहिले त आफ्नो घरछेउमै पो आइपुग्यो, किशोर किशोरीमा मानवीय समवेदना जगाउने नैतिक शिक्षाको खाँचो देखियो ।’

भर्खरै १३ लागेकी छोरीलाई तिहार राम्ररी नबिताई कहिल्यै नफर्कनेगरी विदा दिनुपर्दा दुर्गाबहादुर खड्काको परिवार अद्र्धमुर्छित छ । खड्का परिवार मात्र होइन सिंगो अमला र लाफागाउँ शोक र क्रोधमा डुबेको छ । छिमेकका बालिकाहरू दिउँसो पनि बाहिर जान डराउन थालेका छन् भने अभिभावक पनि त्रसित बनेको वडाध्यक्ष दुर्गाराज खड्काले बताए ।

‘अत्यन्त नराम्रो घट्ना घट्यो, यसले समाज कतातिर गइरहेको छ भन्ने प्रश्न उठाएको छ’ वडाध्यक्ष खड्काले भने ‘युवाहरूमा नैतिक शिक्षा र किशोर किशोरीलक्षित सामाजिक अभियान चलाउनु पर्ने देखियो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्