सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रुकुम (पश्चिम) मा १७ बर्षिया किशोरी बलात्कृत

रुकुम (पश्चिम) मा एक १७ बर्षिया किशोरी बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको त्रिवेणी गाउँपालिका–२ सिम्रुतुका २२ वर्षीय राजिप खड्कालाई पक्राउ समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले दिएको जानकारी अनुसार खड्काले विवाह गर्ने आश्वासन दिएर किशोरीलाई होटेलमा लगी लिई जबरजस्ती करणी गरेका थिए ।

प्रहरी कार्यालय रुकुम (पश्चिम) का सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिकुमार ढुंगानाले दिएको जानकारी अनुसार जबरजस्ती करणी गरेको भन्दै पिडित परिवारले प्रहरीमा उजुरी दिएको छ । उजुरी दर्ता हुने वित्तिकै खड्कालाई पक्राउ गरिएको प्रहरी निरीक्षक ढुंगानाले बताए ।

पक्राउ परेका खड्कालाई जिल्ला अदालतमा उपस्थिति गराएर सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । यहि गाउँपालिकामा गत शुक्रबार नौ वर्षीया अर्की एक बालिका बलात्कृत भएकी थिइन् ।

बालिका बलात्कार गर्ने व्यक्ति भने अझैसम्म फरार रहेका छन् । उनलाई प्रहरीले खोजी गरिरहेको बताएको छ । पछिल्लो समय रुकुम (पश्चिम) मा बलात्कारका घटना बढ्दै गएको प्रहरीले बताएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्