अदालतमा साक्षिको बयान दिनु एकदिन अघि हत्या
धनुषामा हत्या सम्बन्धि मुद्दाका साक्षीको बकपत्र (बयान)को एक दिन अघि हत्या भएको छ । धनुषाको विदेह नगरपालिका ५ मुडिबा निवासी ६८ वर्षीय मानै ठाकुरको शव बिहीबार बिहान गाउँकै सामुदायिक विद्यालय पछाडिको खाल्डोमा फेला परेको हो ।
बुधबार साँझदेखि नै ठाकुर घरबाट बेपत्ता भएका थिए । शवको प्रकृति हेर्दा आँखा र कन्चटमा धारिलो हतियार प्रयोग भएको देखिन्छ । त्यसैगरी शरीरका विभिन्न भागमा घाउ देखिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिएका छन् ।
तर, ठाकुरको हत्या भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जनकपुर अंचल अस्पतालमा राखिएको प्रहरी उपरिक्षक थपलियाले बताएका छन् ।
शुक्रबार गाउँकै एक महिलाको एक वर्ष अघि भएको घटनामा शुक्रबार जिल्ला अदालत धनुषामा सरकारी पक्षबाट साक्षी रहेका ठाकुर अदालतमा बकपत्रका लागि उपस्थित हुनु भन्दा एक दिन अघिनै हत्या हुनुले साक्षीको सुरक्षा खतरा बढेको छ ।
२०७४ असोज १० गते स्थानीय मोहिनी देवी मण्डलको हत्या उनकै जेठाजु र देउरानीले मिलेर गरेको आरोपमा श्रीमान् लक्ष्मी मण्डलले हत्या मुद्दा दर्ता गराएका थिए । सोही घटनाका साक्षी मध्ये ठाकुर पनि एक थिए ।
ठाकुरको परिवारका सदस्यलाई साक्षीको रुपमा बकपत्र दिन नजान भन्दै प्रतिवादीको तर्फबाट पटक पटक धम्की समेत आउने गरेको गुनासो आएको वडाअध्यक्ष विजयकुमार यादवले सुनाएका छन् ।
उनले भने, ‘मृतक ठाकुरकी श्रीमतीले तीन दिन अगाडि पनि आफ्नो घरमा आएर केही व्यक्तिले अदालतमा बकपत्र गर्न नजान धम्की दिएको जानकारी गराएकी थिइन् । तर, ती धम्की हत्यामै परिणत हुने अनुमान कसैले गरेका थिएनन् ।’
यता शुक्रबार जिल्ला अदालतमा साक्षी उपस्थितिका लागि हाजिर भएका प्रतिवादी तेतरी देवी मण्डल, इन्दीरा देवी मण्डल, मन्तोरीया देवी मण्डल र रामबहादुर मण्डलले घटनामा आफूहरुको संलग्नता नभए पनि फसाउने काम भएको बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्