नेपाली कामदारको कोटा थप्न कोरिया सहमत
दक्षिण कोरियाले नेपाली कामदारको कोटा थप गर्ने भएको छ । नेपाल–दक्षिण कोरिया दुईपक्षीय कूटनीति संयन्त्रको शुक्रबार भएको तेस्रो बैठकमा आपसी सहकार्यका साथै कोरिया जाने नेपाली कामदारको संख्या बढाउने सहमति भएको हो ।
परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी महाशाखा प्रमुख स्तरको उक्त स्थायी संयन्त्रको नियमित बैठकमा सहभागी हुन दक्षिण कोरियाका उत्तरपूर्वी तथा दक्षिण एसिया महाशाखा प्रमुख रिऊ जिओङ हुयन नेतृत्वको टोली नेपाल आएको थियो ।
कोरियामा हरेक वर्ष नेपाली कामदारको कोटा बढाउँदै लैजाने र नेपाललाई दिँदै आएको कोरियन सहयोगमा समेत वृद्धि गर्नेमा उनीहरू सहमत भएको परराष्ट्र अधिकारीले जानकारी दिएका छन् ।
कोरियामा अहिलेसम्म ४१ हजार ५ सय नेपाली कामदार गएका र तीमध्ये ३० हजार एक सयभन्दा बढीले अहिले पनि काम गरिरहेका उनीहरूले बताएका छन् ।
सहकार्यलाई मजबुद बनाउने विषयमा समेत छलफल भएको नेपाली पक्षको नेतृत्व गरिरहेका उत्तरपूर्वी महाशाखा प्रमुख झविन्द्र अर्यालले बताएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्