सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रधानमन्त्रीलाई सार्बजनिक कार्यक्रममा जान रोकावट

प्रधानमन्त्री केपी शर्मा ओली दसैँ–तिहारपछि शुक्रबार पहिलो सार्वजनिक कार्यक्रममा सहभागी हुने अन्तिम तयारीमा थिए । प्रधानमन्त्रीको सचिवालयको दैनिक कार्यतालिकामा उल्लेख भएको र आयोजकलाई पनि सहभागी हुने खबर दिइएकाले प्रधानमन्त्रीनिवासबाटै खटिएको सुरक्षा टिम कार्यक्रमस्थल सोल्टी होटेलमा उद्घाटनको केही समयअघिसम्म ‘अर्लट’ थियो ।

तर, निजी चिकित्सकले अझै कम्तीमा १५ दिन भिडभाडबाट टाढै रहन सुझाब दिएपछि एक महिनापछि सार्वजनिक कार्यक्रममा सहभागी हुने तयारीमा रहेका प्रधानमन्त्री ओली अन्तिमतिर सरकारी निवास बालुवाटारमै रोकिए ।

सोल्टी होटेलमा शुक्रबार ‘कोलोम्बो प्रोसेस’अन्तर्गतको एसियाका १२ राष्ट्रका श्रममन्त्री सहभागी परामर्श बैठकको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने कार्यक्रम थियो । उनी सहभागी नभएपछि क्याबिनेटमा दोस्रो वरीयताका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरे । बैठकमा वैदेशिक रोजगारमा कामदार पठाउने मुलुक सहभागी छन ।

सार्वजनिक कार्यक्रमहरूमा सहभागी नभए पनि प्रधानमन्त्रीको स्वास्थ्य स्थिति भने सामान्य भइसकेको छ । तर, अझै केही दिन सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूको भनाइ छ ।

पछिल्लो संक्रमणमा एन्टिबायोटिक चलाइएकाले बढी भिडभाड हुने कार्यक्रममा जाँदा बल्झिन सक्ने भन्दै निजी चिकित्सकद्वय शर्मा र दिव्या सिंहले प्रधानमन्त्रीलाई स्वास्थ्यमा ख्याल राख्नुपर्ने सुझाब पनि दिएका हुन् ।

चिकित्सकको सुझाबका कारण भिडभाडबाट जोगिँदै आएका प्रधानमन्त्री ओलीले सरकारी सबै काम निवासबाटै सञ्चालन गरिरहेका छन् । यसबीच बालुवाटारमै दुईपटक मन्त्रिपरिषद् बैठक बसेको छ ।

छातीमा संक्रमण र श्वासप्रश्वास समस्याले पाँच दिन त्रिवि शिक्षण अस्पताल महाराजगन्जको मनमोहन कार्डियोलोजीमा उपचार गरेपछि प्रधानमन्त्री ओली १६ कात्तिकमा डिस्चार्ज भएका थिए । त्यसयता उनी सरकारीनिवासमै आराम गरिरहेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी अहिले पूर्ण स्वस्थ रहेर पूर्ववत् रूपमै सक्रिय छन् । चिकित्सको सुझाबलाई मध्येनजर राखेरै दसैँ यता स्वकीय सचिवालयले अत्यावश्यकीयबाहेक भेटघाट र सार्वजनकि कार्यक्रमलाई दैनिक कार्यतालिकामै राखेको छैन ।

तर, सरकारीनिवास बालुवाटारमै दलका शीर्ष नेताहरू, सरकारका उच्च अधिकारीसँग भेटघाट चलिरहेको छ । यस्तै, सरकारी निर्णयसँग जोडिएका फाइलहरू अध्ययन गर्ने, फाइल सदर गर्नेदेखि सबैखाले अत्यावश्यकीय काम गरिरहेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्