सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

कर हाम्रै लागी हो, नागरिकले कर तिर्नैपर्छः ओली

‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराकासाथ सातौं राष्ट्रिय कर दिवस आजबाट साताव्यापी रुपमा मनाउन सुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर संकलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा शुभकामना दिएका छन् ।

उनले कर दिवसले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई असल नागरिकको दायित्व पूरा गर्न प्रेरित गर्दै कर प्रणालीलाई प्रभावकारी रूपमा पालना गर्न प्रोत्साहन मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।

प्रधानमन्त्री ओलीले ‘हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो’ भन्ने कुरामा अब द्विविधा मान्न नपर्ने बताएका छन् । राज्यले उपलब्ध गराउने सेवामार्फत संकलन गरिने कर नै राज्यकोषको प्रमुख आधार पनि भएकाले हरेक नागरिकमा सेवा लिएवापत कर तिर्नुपर्ने सोच हुनुपर्नेमा उनको जोड छ ।

प्रधानमन्त्रीको शुभकामना सन्देशमा लेखिएको छ–‘प्रगतिशील कर प्रणालीप्रति सकारात्मक धारणाको विकास हुन नसकेसम्म राष्ट्र निर्माणको अभियानलाई गति प्रदान गर्न सकिँदैन । हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्ने कुरामा अब द्विविधा मान्नै पर्दैन ।’

प्रधानमन्त्रीका अनुसार आम जनताको दैनिक जीवनस्तर उकास्न वर्तमान सरकार प्रतिबद्ध छ । सरकारले राजश्व संकलनलाई प्रभावकारी बनाउँदै राजश्व चुहावट रोक्ने दिशामा पनि सफलता प्राप्त गरिरहेको प्रधानमन्त्रीको भनाइ छ । उत्साहजनक रुपले राजश्व संकलन भइरहेको बताउँदै ओलीले समृद्ध नेपाल, सुखी नेपालीको हामी सबैको सझा संकल्प पूरा गर्ने दृढता व्यक्त गरेका छन् ।

वर्षौंदेखिको राजनीतिक संघर्षको चरण पार गरेर आर्थिक विकास र रुपान्तरणको युगमा प्रवेश गरेको उल्लेख गर्दै उनले अब स्रोतको प्रभावकारी परिचालन गर्दै आर्थिक वृद्धिदरलाई तीव्र र दिगो बनाउन राज्यका सबै संरचना परिचालन हुनैपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन–‘हामीले देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समाजवादउन्मुख समृद्ध अर्थव्यवस्थाको निर्माण गर्ने मार्ग्चित्र कोरिसकेका छौं । त्यसैले हाम्रो राष्ट्रिय आकांक्षालाई मूर्त तुल्याउन आन्तरिक राजश्वको परिचालन अझ प्रभावकारी रूपमा गर्न आवश्यक छ ।’

प्रधानमन्त्रीका अनुसार आयआर्जनका सबै क्षेत्रलाई करको दायरामा ल्याई स्वेच्छिक कर सहभागितामार्फत राजश्व प्रणालीलाई सक्षम र सुदृढ बनाउँदै लगिएको छ । सन्देशमा भनिएको छ–‘तर सरकारले शुरु गरेको आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने पहललाई सार्थक तुल्याउन हरेक कर्तव्यनिष्ठ नेपाली नागरिकलगायत सम्बन्धित सबैको थप क्रियाशीलता आवश्यक पर्दछ ।’

सन्देशमा ओलीले भनेका छन–‘कर भनेको कुनै पनि वस्तु वा सेवा उपभोग गरेवापत तिर्नुपर्ने अतिरिक्त रकम हो । राज्यले उपलब्ध गराउने यस्ता सेवामार्फत संकलन गरिने कर नै राज्यकोषको प्रमुख आधार पनि हो । तसर्थः हरेक असल र कर्तव्यनिष्ठ नागरिकको सेवा लिएवापत कर तिर्नुपर्ने सोच हुन्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS