सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चरिकोटमा छोरा प्रकाशलाई सम्झिएर भक्कानिए प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र तथा पूर्वमाओवादी केन्द्रका पोलिटव्युरो सदस्य प्रकाश दाहालको निधन भएको एक वर्ष पुग्यो । उनको सम्झनामा दोलखा सदरमुकाम चरिकोटमा आयोजित फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सहभागी हुन शनिबार प्रचण्ड दोलखा पुगे ।

कार्यक्रमको औपचारिक उद्घाटन सत्रमा अध्यक्ष प्रचण्ड निकै भक्कानिए । उनले छोरा प्रकाश आफ्नो पुत्रमात्रै नभएर सिंगो मुलुक परिवर्तन गर्न चाहाने एक सशक्त युवाशक्ति भएको बताए । तर उनले यसो भनिरहँदा उनका आँखा रसाइसकेका थिए ।

प्रचण्डले गत वर्ष आजकै दिनको सम्झना गर्दै पार्टी एकीकरण पश्चात् हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन प्रचारका लागि वर्तमान प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र झापामा आयोजित चुनावी सभामा सहभागी हुँदा हृदयघातका कारण प्रकाशको निधन भएको सम्झिए ।

भाबुक हुँदै प्रचण्डले भने–‘हतार–हतार काठमाडौँ त फर्किएँ तर उनले संसार छोडिसकेका थिए ।’ यसो भनेपछि अलिक सम्हालिँदै प्रचण्डले भने–‘प्रकाशको निधन एक अकल्पनीय परिघटना जस्तै थियो ।’

त्यसपछी सम्हालिँदै बोलेका अध्यक्ष प्रचण्डले एकता प्रकृयाका बाँकी काम चाँडै सम्पन्न हुने बताए । उनले नेताहरुको व्यस्तताका कारण ढिलाइ भएको पनि जानकारी दिए । उनले प्रायः शीर्ष नेताको विदेश भ्रमणले एकीकरणमा केही ढिलाइ भएको स्वीकारे ।

प्रचण्डले भने–‘केही समय म पनि भ्रमणमा थिएँ, प्रधानमन्त्रीजी पनि लामै भ्रमणमा हुनुभयो । त्यसलगत्तै उहाँको स्वास्थ्यमा समस्या भयो । अहिले माधवजी बाहिरै हुनुहुन्छ । नेताहरुको व्यस्थताका कारण एकताका बाँकी काम बारे छलफल हुन सकेको छैन ।’

अध्यक्ष प्रचण्डले नेकपाका वरिष्ठ नेता माधबकुमार नेपाल विदेश भ्रमणबाट ५ मंसिरमा फर्किने र ६ गते शीर्ष नेताहरुको बैठक बसी एकीकरण प्रकृयालाई निरन्तरता दिने बताएका छन् ।

उनले त्यसपछि स्थायी समिति र केन्द्रिय समितिको छुट्टाछुट्टै बैठक आह्वान गरेर प्रदेश समिति र जिल्ला समितिको एकता टुंग्याउने तयारी भइरहेको खुलासा गरे । प्रचण्डले त्यसपछि क्रमशः तल्लो तहको एकीकरण प्रक्रियाले निरन्तरता पाउने बताएका छन् ।

अध्यक्ष प्रचण्डले यसअघि सरकारका काम कारबाहीमा केही गुनासो र सुस्तता देखिए पनि अब भने गियर परिवर्तन हुने जानकारी दिए । तीन तहका सरकारका फरक–फरक विधि भएको र केन्द्रीय सरकार सुस्त र परिणाममुखी नभएको भन्दै जनताका केही गुनासाहरु आउने गरेको बताए । उनले तत्कालै सरकारको गियर परिवर्तन हुने बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्