सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अमेरिकी राष्ट्रपति डोनाल्डले दिए पत्रकारलाई धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरू ‘मर्यादापुर्वक’ प्रस्तुत नभए भविष्यमा पत्रकार सम्मेलन छाडेर हिड्ने धम्की दिएका छन् । सीएनएनका पत्रकार जिम अकोस्टाको अमेरिकी सिक्रेट सर्भिसद्वारा खोसिएको प्रेस पास फिर्ता गर्न अदालतले आदेश दिएपछि बोल्दै ट्रम्पले उक्त धम्की दिएका हुन् ।

गतसाता एक पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पसँग विवाद भएपछि अकोस्टाको प्रेस पास खोसिएको थियो । अदालतको आदेशबारे प्रतिक्रिया दिँदै ट्रम्पले त्यो ‘कुनै ठूलो विषय नभएको’ बताएका छन् । तर उनले भने–‘मानिसहरूले राम्रो व्यवहार गर्नुपर्छ ।’ उनले ‘पत्रकार सम्मेलनमा सोध्नुपर्ने प्रश्न संख्याबारे आफ्ना कर्मचारीले नीति नियम बनाइरहेको’ बताएका छन् ।

‘यदि उनीहरूले नीति, नियम नमान्ने हो भने हामी त्यो विषय अदालत पुर्याउनेछौं र त्यसमा हामी जित्नेछौं । तर त्यो भन्दा महत्वपूर्ण कुरा हामी पत्रकार सम्मेलनबाट बाहिरिन्छौ र तपाईहरू धेरै खुशी हुन पाउनुहुन्न,’ ट्रम्पले भने, ‘तपाई ३ वा ४ प्रश्न सोध्न सक्कुहुन्न र उभिइरहन सक्नुहुन्न । तपाईहरूले मर्यादा कायम गर्ने अभ्यास गर्नुपर्छ । ’

आफ्नो प्रेस पास फिर्ता गर्न अदालतले दिएको आदेशको प्रशंसा गर्दै पत्रकार अकोस्टाले भने–‘अब काममा फर्किऊ ।’ वासिङटनस्थित एक अदालतका न्यायाधीशले पत्रकार परिचयपत्र खोस्ने राष्ट्रपति कार्यालयको कदमबाट कानुनले पत्रकारलाई दिएको अधिकार र वाक् स्वतन्त्रताको उल्लंघन भएको बताएका छन् ।

अदालतको आदेशसगै राष्ट्रपति कार्यालय र राष्ट्रपतिका अन्य कार्यक्रममा प्रवेश गर्न पाउने अकोस्टाको प्रेस पास फिर्ता गर्न ह्वाइटहाउस बाध्य भएको छ । नोभेम्बर ८ मा भएको एक पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पसँग विवादमा उत्रेपछि अकोस्टालाई ह्वाइटहाउस छिर्न रोक लगाइएको थियो । ह्वाइट हाउसकी एक कर्मचारीले थप प्रश्न सोध्न खोजेका अकोस्टाबाट माइक्रोफोन खोस्न प्रयास गरेकी थिइन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसको आरोपित हस्तक्षेपबारेको अनुसन्धानका क्रममा आफूलाई सोधिएका सबै प्रश्न दिएको उल्लेख गरेका छन् ।

विशेष अनुसन्धानकर्ता रोबर्ट मुलर नेतृत्वको टोलीले राष्ट्रपतिको चुनावी अभियानमा रुसी हस्तक्षेपबारे अनुसन्धान गरिरहेको छ । आफुले प्रश्नहरूको निकै सजिलो ढंगले जवाफ दिएको बताए । उनले प्रश्नको जवाफ अनुसन्धान टोलीलाई बढाउन बाँकी रहेको पत्रकारलाई बताएका छन् ।

ट्रम्पले आफ्नो चुनावी अभियान टोलीको र रुससग कुनै साँठगाँठ नभएको बताउने गरेका छन् । ट्विटरमार्फ ट्रम्पले जारी अनुसन्धानलाई ‘नचाहिँदो कार्य’ को संज्ञा दिए । उनले अनावश्यक लामो अनुसन्धानमा संलग्नहरु ‘देशका लागि लज्जा’ भएको टिप्पणी गरे ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्