अस्पतालमा गोली चल्दा अमेरिकामा ४ को मृत्यु
संयुक्त राज्य अमेरिकाको शिकागोस्थित मर्सी अस्पतालमा गोलीबारी हुँदा कम्तीमा चार जनाको ज्यान गएको छ । मृत्यु हुनेमा अस्पतालका दुई महिला कर्मचारी, एक प्रहरी अधिकारी र स्वयं बन्दुकधारी हुन् ।
पुलिस प्रवक्ता एन्थोनी गुग्लियोल्मीले आफ्ना एक पुलिस अधिकारी स्यामुनियल जिमेनेजको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जानकारी दिएका छन् । स्थानीय समय अनुसार सोमबार दिउँसो तीन बजे गोली हानाहानका क्रममा बन्दुकधारी मारिएको प्रहरीका प्रवक्ताले जानकारी दिएका छन् ।
उनले स्वयंलाई गोली चलाए नचलाएको बारे स्पष्ट जानकारी उपलब्ध छैन । बन्दुकधारीले आफूसँग सम्बन्ध रहेको एक महिलालाई लक्षित गरी गोली चलाएको प्रहरीले जनाएको छ । यद्यपि उनले गोली चलाउनुको उद्देश्य थाहा हुन नसकेको प्रहरीको भनाइ छ ।
घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएसँगै मर्सी अस्पताललाई खाली गराइएको थियो । पछि अस्पतालले दर्जनौँ बिरामी र स्वयं अस्पतालको सुरक्षा सुनिश्चित गर्न प्रहरी सफल भएको बताएको थियो ।
शिकागो प्रहरीका एक प्रवक्ताका अनुसार बन्दुकधारीले अस्पतालको कार पार्किङ स्थलमा फायरिङ थालेपछि कैयौँ राउण्ड गोली चलाइएको थियो । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार सन्दिग्ध व्यक्ति अस्पताल भवनमा उक्लिँदै गर्दा बिरामीहरूले गोली चलेको आवाज सुनेका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्