सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पत्रकारसँग कठोर बन्दै ट्रम्प, एउटा प्रश्न मात्रै सोध्न पाउने

पत्रकार सम्मेलनमा सिएनएनका पत्रकार जीम एकोस्टाको प्रश्नबाट अत्तालिएको अमेरिकी राष्ट्रपति कार्यालयले पत्रकारप्रति अनुदार नियम बनाएको छ । पत्रकार जीम एकोस्टाकोे परिचय पत्र खोसेको अमेरिकी राष्ट्रपतिको कार्यालय हृवाइटहाउसले सीएनएनका उनको परिचयपत्र फिर्ता गरेको छ ।

साथै हृवाइटहाउसमा आयोजना हुने पत्रकार सम्मेलनमा एकजना पत्रकारले एउटामात्र प्रश्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सोध्न पाउने नियम बनाइएको छ । हृवाइटहाउसमा दुई साताअघि आयोजित पत्रकार सम्मेलनमा अनुशासनहीन ढंगले राष्ट्रपति ट्रम्पसँग प्रश्न सोधेको भन्दै ट्रम्प प्रशासनले जफत गरेको परिचयपत्र फिर्ता दिएको हो ।

ट्रम्प प्रशासनले पत्रकार परिचयपत्र अमान्य घोषित गर्दै समाचार संकलनमा रोक लगाएपछि सीएनएन ट्रम्प र उनका उच्च सहयोगीविरुद्ध अदालत गएको थियो । अदालतले सीएनएन र एकोस्टाकै पक्षमा फैसला गरेपछि ट्रम्प प्रशासन आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएको हो ।

समाचार एजेन्सी एपीका अनुसार, हृवाइटहाउसले एकोस्टालाई नियममा बाँधिएर रिपोर्टिङ गर्न चेतावनी दिँदै परिचयपत्र फिर्ता गरेको छ । सीएनएनले एक ट्वीट गर्दै आफ्ना वरिष्ठ संवाददाता एकोस्टाको परिचयपत्र पूर्णरुपमा फिर्ता भएको जनाएको छ ।

हृवाइटहाउसले परिचयपत्र फिर्ता गरिसकेकाले मुद्दासमेत जरुरत नरहेको सीएनएनको भनाइ छ । एकोस्टाको परिचयपत्र जफतपछि थप आलोचित बनेको ट्रम्प प्रशासनले प्रेसमाथि नयाँ नियम लागू हुने घोषणा गरेको छ ।

नयाँ नियमअनुसार, अब हृवाइटहाउसमा आयोजना हुने पत्रकार सम्मेलनमा पत्रकारले मनमौजी प्रश्न गर्न पाउने छैनन् । प्रत्येक पत्रकारले मात्रै १ प्रश्न ट्रम्पसमक्ष राख्न सक्नेछन् । ट्रम्प प्रशासनले यस्तो नियम बसाले लगत्तै प्रेस स्वतन्त्रताको मर्मविपरीत ट्रम्प अघि बढेको भन्दै आलोचना शुरु भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्