सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एकाबिहानै बाटोमा दिशा गर्ने ६ जना नियन्त्रणमा

प्रहरीले एकाबिहानै बाटोमा दिशा गर्ने छ जनालाई पक्राउ गरेको छ । बिहान ४ बजे खटिएको प्रहरी टोलीले जिल्लालाई खुल्ला दिसामुक्त बनाउने अभियानलाई चुनौती दिँदै बाटोमा दिशा गर्न बसेका ६ जना पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताएका छन् ।

पक्राऊ परेका व्यक्तिबाट जनही रु. ५०० का दरले जरिवाना लिएर छाडिने महोत्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रत्येक वर्ष उक्त जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने समय तोकिए पनि हालसम्म पूरा हुनसकेको छैन् ।

त्यस्तै प्रहरीले बुधबार साँझ महोत्तरीकै रामगोपालपुर नगरपालिका–६ स्थित खोला छेउमा खरघारीमा छाप्रो बनाई सञ्चालन गर्दै आएको मदिरा भट्टी र औरही नगरपालिका–१ स्थित जङ्गल क्षेत्रमा सञ्चालन हुँदै आएको मदिरा भट्टी भत्काइदिएको छ ।

प्रहरीले ती स्थानबाट २७० लिटर तयारी मदिरा, तीन हजार ८०० लिटर कच्चा पदार्थ, ६५ किलो सक्खर, ६ थान औजार, ५२ थान मदिरा राख्ने ड्रम र एक थान साइकलसमेत बरामद गरेको छ । जिल्लालाई अवैध घरेलु मदिरा उत्पादनमुक्त बनाउने अभियानअन्तर्गत ती भट्टी नष्ट गरिएकोे प्रहरी नायब उपरीक्षक खड्काले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्