सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कपिलवस्तुमा प्रदेशसभा उम्मेद्वारको गोली हानि हत्या

कपिलवस्तुमा एक स्थानीय नेताको गोली हानी हत्या गरिएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका–४, मोतिघारीका स्थानीय दिपेन्द्रकुमार चौधरीको गोली हानी हत्या गरिएको हो ।

नजिकै घर भएका अर्का व्यक्तिसँग विवाद हुँदा शुक्रबार राति १० बजेतिर चौधरीमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । प्रहरीका अनुसार टाउकोमा गोली लागेका उनलाई उपचारका लागी अस्पताल लैजाँदै गर्दा ज्यान गएको थियो ।

सुरुमा उनलाई तबनी स्वास्थ्य चौकि लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछी उनलाई मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लामा राजाबाबु भनेर चिनिने चौधरी गतसालको स्थानीय तह निर्वाचनमा सुद्धोधन गाउँपालिकाको प्रमुखमा उठेका थिए । उनी स्वतन्त्र उम्मेदवारका रुपमा प्रदेशसभा सांसदमा पनि उठेका थिए ।

तत्कालीन फोरम लोकतान्त्रिकका नेतासमेत रहेका चौधरी पछिल्लो समय विजय गच्छदार कांग्रेसमा प्रवेश गरेपछि स्वतन्त्र रहँदै आएका थिए । मृतक चौधरीको शव हाल मेडिकल कलेज भैरहवामा राखिएको छ ।

हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्