इतिहाँस रच्ने तयारीमा मिस नेपाल श्रृंखला खतिवडा
‘नमस्ते नेपाल ! सन्चै हुनुहुन्छ ?’ मिस वल्र्ड २०१८ का लागि चीनको सान्यामा भेला भएका एक सय २१ देशका युवती नेपाललाई यसरी सम्बोधन गर्न थालेका छन् । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सान्या पुगेकी मिस नेपाल शृंखला खतिवडाले उनीहरूलाई नेपाली भाषा सिकाएपछि उनीहरूले यस्तो सम्बोधन गरेका हुन् ।
भोटिङमा अग्रपंक्तिमा रहेकी शृंखलाले आफ्ना प्रतिस्पर्धीलाई नेपाली बोल्न सिकाइरहेकी छन् । उत्कृष्ट ३० मा परेकी शृंखलाले शुक्रबार मध्यरातसम्म खसेको कुल भोटमध्ये २०.६८ प्रतिशत पाप्त गरेकी छन् ।
उनले १ लाख २ हजार ३ सय ८४ मत पाएकी छन् भने उनकी निकटतम प्रतिस्पर्धी फ्रान्सकी माइभा कुकोले ३३ हजार २ सय ९७ (३.३२ प्रतिशत) र अमेरिकाकी मारिसा बटलरले ३१ हजार ८ सय २६ मत (०.०४ प्रतिशत) प्राप्त गरेकी छन् । मिस वल्र्ड २०१८ को अन्तिम प्रतिस्पर्धा डिसेम्बर ८ मा हुँदैछ ।
विभिन्न च्यानल र सामाजिक सञ्जालमा गरिएको मत सर्वेक्षणमा शृंखला उत्कृष्ट एकदेखि सात स्थानमा परेकी छन् । उनी यसवर्ष मिस वल्र्डका लागि भारतको प्रतिनिधित्व गरेकी अनुष्कृति भाषभन्दा धेरै अगाडि छिन् । ‘ब्युटी विथ परपस’ भन्ने नारासहित नेपालको प्रतिनिधित्व गरेकी शृंखलाले मुलुकलाई चिनाउन विभिन्न तरिका अपनाएकी छन् ।
पेसाले इन्जिनियर शृंखलाको परिचय राउन्डको भिडियो पनि भाइरल भएको थियो । सर्वोच्च शिखर सगरमाथा, बुद्धभूमि, नेपाली कला र प्रकृतिलाई एक साथ जोडेर बनाइएको भिडियोमा शृंखलाले नेपाललाई विश्व सामु चिनाउन निकै मेहेनत गरेकी छन् ।
मिस नेपाल बनेपनि मोडलिङ र चलचित्रमा अभिनय गर्ने सोच नभएको स्पस्ट पारेकी शृंखला नयाँ विषयका साथ मिस वल्र्डमा सहभागी भएकी छन् । उत्कृष्ट विद्यार्थी र राजनीतिक पृष्ठभूमिकी शृंखलाको मिस वल्र्ड यात्रालाई निकै चासोका साथ हेरिएको छ ।
शृंखलाका बुबा सांसद विरोध खतिवडाले छोरीका लागि आफूले पनि भोट गरिरहेको बताएका छन् । ‘दिनभर भोटमात्र गरेर बस्ने कुरा त भएन तर भोट चाहीं गरिरहेको छु’, उनले भने, ‘छोरीसँग दिनहुँ कुरा हुन्छ । त्यहाँको माहोलबारे छोरीसँग जानकारी लिइरहेको छु । प्रतिस्पर्धामा छोरी उत्साहित र विश्सस्त छे ।’
आफ्नो देश चिनाउन छोरीले निकै मेहनत गरेकोमा उनले खुसी व्यक्त गरेका छन् । ‘शृंखला मिस वल्र्ड बनोस् भन्ने चाहना परिवार मात्र होइन, सबै नेपालीको हो’, विरोधले भने–‘मिस वल्र्ड ब्युटी विथ ब्रेनको प्रतिस्पर्धा हो । यी दुवैमा छोरी अब्बल छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्