सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विप्लव माओवादीको शक्ति प्रदर्शन, बिशेष सुरक्षा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राजधानी काठमाण्डौको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेको छ । पार्टी पुनर्गठन दिवसको अवसर पारेर नेकपाले जनसभा आयोजना गरेको हो ।

जनसभामा पार्टी महासचिव विप्लव भने सहभागी भएका छैनन् । नेकपाका अनुसार, विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि जनसभामा निमन्त्रणा गरिएको छ ।

नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका गोपाल किराती र नेकपा अध्यक्ष ऋषि कट्टेल लगायतलाई नेकपाले निम्तो दिएको हो । विप्लव नेतृत्वको माओवादी जनसभालाई लक्षित गरी काठमाडौंमा सुरक्षा निगरानी बढाइएको छ ।

काठमाडौंको बबरमहल, लैनचौर र कालिमाटीबाट निस्किएको जुलुस तथा कार्यक्रम स्थलको सुरक्षार्थ ८ सय भन्दा बढी प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) बसन्त लामाले जानकारी दिएका छन् ।

जिल्ला सुरक्षा समिति काठमाडौँले विप्लवको कार्यक्रम नियाल्नका लागि भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा ‘कमाण्ड पोष्ट’ खडा गरेको छ । कमाण्ड पोष्टमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, काठमाडौं प्रहरी प्रमुख, नेपाली सेनाका कर्णेल, राष्ट्रिय अनुसन्धान विभागका एसपी र सशस्त्र प्रहरी बलका एसपीले संयुक्त रुपमा कार्यक्रम स्थलको बस्तुस्थिति बारे निगरानी गरिरहेका छन् ।

पार्टी पुनर्गठन दिवसको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आयोजना गरेको सभामा करिब १२ हजारको संख्यामा कार्यकर्ता तथा समर्थक उपस्थित हुने सुरक्षा निकायले आँकलन गरेका छन् । कार्यक्रम स्थलको सुरक्षार्थ प्रदर्शनीमार्गमा काठमाडौंका प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा उल्लेख्य संख्यामा नेपाल प्रहरीका सिनियर अफिसरहरु खटिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्