देश नरहने चिन्ता भो, सरकार राष्ट्रघाति भोः प्रकाण्ड
विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीका प्रवक्ता तथा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले विजय निकट पुगेको सर्वहारा वर्गको क्रान्तिलाई नेताहरुले षड्यन्त्र गरेर धोका दिएको आरोप लगाएका छन् ।
प्रचण्ड, रामबहादुर थापा बादललाई लक्षित गर्दै प्रकाण्डले उनीहरुलाई ‘गद्धार’को संज्ञा दिएका छन् । र उनीहरुकै कारण जनताले धोका पाएको बताए । आज जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेताहरुले धोका नदिएको भए यतिबेला नेपाली जनताको आफ्नै सत्ता हुने उनको जिकिर थियो ।
साथै अहिलेको सरकारले आफ्नो पार्टी विरुद्ध षड्यन्त्र गरिरहेको भन्दै सरकारका गतिविधिप्रति चर्को आलोचना गरेका छन् । सभा गर्ने सार्वजनिक स्थल समेत सरकारले नदिएको भन्दै उनले त्यसमा रोष प्रकट गरेका थिए । उनले भने, ‘कुनै पार्टीले सार्वजनिक स्थलमा सभा गर्न खोज्दा ठाउँ पनि छैन समृद्ध नेपालमा ?’
शान्तिबाटिकामा गर्ने भनिएको उनीहरुको कार्यक्रम शनिबार भृकुटीमण्डपमा भएको हो । प्रकाण्डले देश अहिले साम्राज्यवादी शक्तिको परेड खेल्ने ठाउँ बनेको भन्दै त्यसको विरोध गरेका छन् । साथै आन्दोलनबाट हासिल गरेको उपलब्धि मेट्न लागेकोमा उनको चिन्ता थियो ।
वर्तमान सरकारलाई राष्ट्रघातीको संज्ञा दिँदै उनले ओली सरकार बनेपछि राष्ट्रघाती प्रोजेक्ट अघि बढाउन थालिएको बताएका थिए । उपल्लो कर्णाली जलविद्युत आयोजनामा भारतीय पक्षको संलग्नता शंकेत गर्दै त्यसलाई आफूहरुले रोकौँ पनि उनको भनाइ थियो । तर अहिलेको सरकारले त्यसपछि अरु ‘राष्ट्रघाती प्रोजेक्ट’ अघि बढाउँदै गरेको उनले बताए ।
नेता प्रकाण्डले मुलुकको राष्ट्रियता संकटमा रहेको भन्दै त्यसविरुद्ध लाग्न आह्वान गरे । उनले भने–‘राष्ट्रियता संकटमा छ । देश नै रहन्छ कि रहँदैन चिन्ता छ । हिमाल, तराई र पहाडलाई अलग बनाउने खेल भइरहेको छ । राष्ट्रघाती कदम नसच्याउने हो भने नेपाली जनता स्वाधिनताको लागि राष्ट्रिय सेनामा बदलिने छन् ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्