निर्मलाका बुवालाई बेहोस बनाएर गाडीमा काठमाण्डौ
बलात्कारपछी हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका बुवा यज्ञराज पन्तको मानसिक अवस्था बिग्रीएर बर्बराउँदै प्लेनमा जान नमानेपछी उनलाई बेहोस बनाएर काठमाडौं पठाइएको छ । असामान्य व्यवहार देखाएपछि पन्तलाई सेती अञ्चल अस्पतालमा बेहोस बनाएर शनिबार राति गाडीमार्फत काठमाडौं पठाइएको हो ।
विमानस्थलमा बर्बराउने, मनपरी हिँड्ने लगायतका असामान्य व्यवहार देखाएपछि सुरक्षाका कारण देखाउँदै उनलाई विमान कम्पनीले लग्न मानेको थिएन । सुरक्षाका कारण विमानबाट काठमाडौं पठाउन नसकिएपछि जिप भाडामा लिएर पठाइएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी भट्टले भने–‘निर्मलाका बुवा, आमा र दुई जना आफन्तलाई गाडीबाट काठमाडौं पठाइएको छ ।’ यसअघि चारै जनालाई बुद्ध एयरको बेलुकीको उडानबाट काठमाडौं पठाउने प्रयास गरिएको थियो तर विमानका कर्मचारीहरुले यज्ञराजलाई लैजान नसकिने बताएका थिए ।
बुद्ध एयर धनगढी शाखा प्रमुख बुधराम माझीले एक जनाका कारण अन्य यात्रुलाई समेत जोखिम हुने देखेपछि उनलाई नलगिएको बताएका छन् । माझिले भनेका छन्–‘यात्रुसँग असामान्य व्यवहार गर्ने, बर्बराउने, मनपरी हिँड्नेजस्ता व्यवहार गरेकाले सुरक्षाका कारण लग्न नसकिएको हो । एक जना यात्रुका कारण विमानका सबै यात्रुलाई जोखिम हुने देखेपछि पठाउन सकिएन ।’
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टका अनुसार यज्ञराजमा मानसिक समस्या देखिएपछि चिकित्सकले काठमाडौं लैजान सुझाव दिएका थिए । छोरीको न्यायका लागि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजमा तीन दिनदेखि मानसिक समस्या देखिएको थियो ।
निर्मलाको परिवारका सदस्यहरु १४ दिनदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्नामा बसेका थिए । गत साउन १० मा साथीको घर गएकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । तर चार महिना बितिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाएर कारबाही गर्न सकेको छैन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्