सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

ठगीको पराकाष्ठा, आईजीपी ज्वाईँ भन्दै उल्टो धम्की

आइजीपी सर्वेन्द्र खनाल आफ्नो ज्वाईं भएको बताउँदै एक व्यक्तिले विराटनगरमा ५० जनालाई ठगी गरेको भेटिएको छ । विराटनगरमा तीनवटा घर भाडामा लिएर नक्कली विद्युत्त परियोजना र विजनेस मेनेजमेन्ट ग्रुप खोलेर गुणराज ओझाले ५० जनाभन्दा बढीलाई ठगी गरेका हुन् ।

मोरङ लेटाङ घर भई विराटनगर ५ मा बस्दै आएका ओझाले अधिकृतदेखि पियन स्तरमा ५० जना कर्मचारी नियुक्ति गरेर तलब नदिइ ठगेको जनाइएको हो । पूर्वराजा ज्ञानेन्द्र शाहको आफू विश्वास पात्र रहेको बताउने ओझाले बिराटनगर महानगरपालिका–४, कञ्चनबारी पश्चिम साझा मार्गमा ‘तमोर मेवा जलविद्युत्त आयोजना पब्लिक लिमिटेड र बिजनेस मेनेजमेन्ट ग्रुप (बिएमजी)’ नामक नक्कली कम्पनी खोलेर ५० जना व्यक्तिलाई विभिन्न मितिमा नियुक्ति दिएका थिए ।

ओझाले २०७४ चैतदेखि यता विभिन्न मितिमा कर्मचारी नियुक्ति गरी उल्टो ऋण लिएर सम्पर्कविहीन भएका हुन् । ‘गत चैतदेखि काम गरे पनि तलब पाएका छैनौं’, ओझाबाट ठगिएका नितेश खतिवडाले भने, ‘आईजीपी आफ्नो भान्जा ज्वाईं भन्दै बाहिर बोले फसाउने धम्की दिन्छन् ।’

गुणराजले खतिवडासहित ५० जनालाई नियुक्ति दिएर तलब दिएका छैनन् । काम गर्ने कर्मचारीहरुबाट उल्टै ५ हजारदेखि १ लाख ३५ हजार सम्म ऋण लिएर नतिरेको खतिवडाको गुनासो छ ।

महिनौंसम्म तलब नदिई सापटी लिएको रकम समेत फिर्ता नगरेपछि खोजी गर्दा कम्पनी नै फर्जी भएको खुलेको हो । ‘तलब नदिएपछि खोज्दै जादा कम्पनी दर्ता नै भएको देखिएन’, खतिवडाले भने, ‘तलब माग्दा बाउन्स चेक दिए ।’

कम्पनी सञ्चालक ओझा फरार भएपछि ५० जना कर्मचारीले श्रम कार्यालय विराटनगरमा उजुरी गरेका छन् । कात्तिक १८ गते श्रम कार्यालयमा उजुरी परेपछि श्रम कार्यालयले २० गते ओझालाई उपस्थित हुन पत्र काटेको थियो । तर, ठेगाना पत्ता नलागेपछि कार्यालयले शुक्रबार दोस्रो पत्र पठाएको श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।

‘गत चैतदेखि विभिन्न मितिमा कर्मचारीलाई नियुक्ती गरी ठगी गरेको रहेछ’, उनले भने, ‘सरकारी सुविधा सरह तलब र ५० प्रतिशत भत्ता दिनेगरी सम्झौता गरेर तबल नदिएको भेटियो ।’ ओझाले घरबेटीलाई पनि जलविद्युत आयोजनाको करौडौ बराबरको सेयर दिने भन्दै घरभाडासमेत तिरेका छैनन् ।

दुईवटा कम्पनी खोलेर कर्मचारी र घरबेटीलाई ठगेका ओझाले ८ वटा मोवाइल नम्बर बोक्ने गरेको पाइएको छ । तर, उनले बोक्ने सबै नम्बर स्वीच अफ गरेर बसेका छन् । ओझाले ५ वटा पोस्टपेड तीनवटा प्रिपेड नम्बर बोक्दै आएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS